काठमाडौँ
असावधानीका कारण देशभर आगलागीका घटना बढ्दै गएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा भएका विभिन्न विपद्का घटनामा ४८ जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ।
प्राधिकरणका अनुसार पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का घटना भएका छन्। तीमध्ये १५ वटा आगलागीका घटना रहेका छन्। विपद्का कारण करिब १० लाख १२ हजार रुपैयाँ बराबरको क्षति भएको छ।
सुनसरी, सिरहा, सर्लाही र रौतहटका दुई स्थानमा आगलागीका घटना भएका छन्। यस्तै बारा, कैलाली, कञ्चनपुर, अछाम र डडेल्धुरामा पनि आगलागी भएको प्राधिकरणले जनाएको छ। सोलुखुम्बु, ओखलढुङ्गा, म्याग्दी, रुकुमपूर्व र कालीकोटमा वन क्षेत्रमा डढेलो लागेको छ। उदयपुर, रौतहट, सुर्खेत र डोटीमा भने जनावरको आक्रमणसम्बन्धी घटना घटेका छन्।
यसअघि पनि पुस २२ गते बिहानदेखि २३ गतेसम्म देशभर १९ वटा विपद्का घटना भएका थिए, जसमा १७ वटा आगलागीका थिए। त्यस्तै पुस २१ गते बिहानदेखि २२ गते बिहानसम्म २४ वटा विपद्का घटना भएका थिए, जसमा १८ वटा आगलागीका घटना थिए।
हिउँदयाममा विद्युत् सर्ट, पराल तथा कुन्यूँमा लापरबाहीपूर्वक आगो बाल्नु, गोठ तथा घर आसपास सामान्य सावधानी नअपनाउनुजस्ता कारणले आगलागीका घटना बढेको प्राधिकरणको निष्कर्ष छ। प्राधिकरणले आगो बाल्दा विशेष सावधानी अपनाउन, प्रयोगपछि आगो पूर्ण रूपमा निभाउन तथा ज्वलनशील पदार्थ सुरक्षित स्थानमा राख्न सर्वसाधारणलाई आग्रह गरेको छ।