बागलुङ ।
ताराखोला गाउँपालिकाका किसान, विशेषगरी महिला उद्यमीहरूले बजार अभावका कारण बिक्री हुन नसकेको किवीलाई खेर जान नदिन जुस उत्पादन सुरु गरेका छन्। पाँच वर्षअघि राम्रो मूल्य पाइने अपेक्षासहित गाउँका बारीभरि किवी रोपिए पनि अपेक्षित बजार नपाएपछि उनीहरू वैकल्पिक उपायका रूपमा प्रशोधनतर्फ उन्मुख भएका हुन्।
ताराखोला गाउँपालिका–३ हिलगाउँमा रहेको पँधेराखोला अस्तुरी कृषि समूहका महिलाले बारीमा लटरम्म फलेको किवी देखेर सुरुमा उत्साहित भए। तर उत्पादन बढेसँगै बजारको अभाव मुख्य समस्या बनेको छ। समूहकी सदस्य देउकुमारी रोकामगरका अनुसार हाल सीमित मात्रामा गलकोट र बागलुङका केही बजारमा किवी पठाइँदै आएको छ।
“दुई वर्षदेखि किवी राम्रै फल्न थालेको छ, तर मागअनुसार बजार छैन,” रोकामगरले भनिन्, “यस वर्ष मात्रै एक हजारभन्दा बढी बोतल किवी जुस उत्पादन गरिसकेका छौं।” उनका अनुसार २५० मिलिलिटर र आधा लिटरका बोतलमा जुस प्याकेजिङ गरी बजारमा ल्याइएको छ।
किवी खेतीले राम्रो आम्दानी दिने आशामा ठूलो लगानी गरिएको भए पनि हाल सोचेजस्तो परिणाम नआएको किसानहरूको गुनासो छ। “माग धेरै हुन्छ, पैसा पनि राम्रो पाइन्छ भन्ने सुनेर किवी लगायौं, तर अहिले उचित मूल्य त परै जाओस्, बजार पाउनै गाह्रो छ,” रोकामगरले भनिन्, “जुस बनाउने काम परीक्षणकै चरणमा छ, बजार पाए हाम्रो जीविकोपार्जन सहज हुने थियो।”
समूहकी कोषाध्यक्ष भवी रोकामगरका अनुसार हाल सिङगुजी कृषि उपज प्रशोधन केन्द्रमार्फत किवी जुस उत्पादन भइरहेको छ। ताराखोला गाउँपालिकाले सात दिने तालिम प्रदान गरेपछि महिलाहरू प्रशोधनमा जुटेका हुन्। “उत्पादन त गर्न थाल्यौं, अब मुख्य चुनौती बजारीकरण नै हो,” उनले भनिन्, “स्थानीय सरकारले यसमा थप सहयोग गर्न आवश्यक छ।” अहिलेसम्म समूहले दशौँ लाख रुपैयाँ लगानी गरिसकेको पनि उनले बताइन्।
स्वास्थ्यका लागि उपयोगी मानिने किवी जुसलाई अधिकतम १८ महिनासम्म भण्डारण गर्न मिल्ने गरी प्राविधिक व्यवस्थापन गरिएको छ। गाउँपालिकाले तीन लाख रुपैयाँ मूल्य बराबरको जुस पेल्ने मेसिन उपलब्ध गराएको गाउँपालिका अध्यक्ष धनबहादुर विकले जानकारी दिए। उनका अनुसार ताराखोलामा किवी खेतीको ठूलो सम्भावना रहेकाले किसानलाई उत्पादन र प्रशोधन दुवैतर्फ प्रोत्साहित गर्ने नीति लिइएको छ।
बजार सुनिश्चित हुन सके किवी जुस उत्पादनले स्थानीय महिलाहरूको आयआर्जन र आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ।