काठमाडौं ।
नेपाली कांग्रेसले विधानअनुसार नियमित १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको भन्दै विशेष महाधिवेशनको माग तथा त्यसका नाममा बोलाइएका भेलाहरू अवैधानिक हुने ठहर गरेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलले निर्णय सार्वजनिक गर्दै पार्टी एकता कमजोर बनाउने तथा आगामी निर्वाचनमा नकारात्मक असर पार्ने गतिविधि तत्काल रोक्न सबैमा अपिल गरिएको जानकारी दिए।
उनका अनुसार पार्टीका केही महाधिवेशन प्रतिनिधिहरूले नियमित महाधिवेशन नभएको अवस्थामा विशेष महाधिवेशन बोलाउन माग गर्दै हस्ताक्षर बुझाए पनि सो मागको औचित्य मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भइसकेको छ। पार्टीले २०८२ मंसिर १५ गते पारित गरेको महाधिवेशन कार्यतालिकालाई पुस १८ गतेको बैठकले संशोधन गर्दै २०८३ वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको बैठकले स्पष्ट पारेको छ।
निर्णयमा भनिएको छ, “विधान अनुसार नियमित महाधिवेशनको प्रक्रिया अघि बढिसकेको अवस्थामा विशेष महाधिवेशन अवैधानिक हुन्छ।” साथै, वर्तमान संवेदनशील राजनीतिक परिस्थितिमा विशेष महाधिवेशन आयोजना गर्नु पार्टीको हितमा नरहेको, यसले पार्टीलाई विभाजनतर्फ लैजान सक्ने र आगामी निर्वाचनमा गम्भीर क्षति पुर्याउने जोखिम रहेको उल्लेख गरिएको छ।
बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन, समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेस भइसकेको अवस्था तथा राष्ट्रियसभा सदस्य निर्वाचनजस्ता महत्वपूर्ण जिम्मेवारीमा पार्टी केन्द्रित रहेको जनाएको छ। यस्तो अवस्थामा आन्तरिक विवाद र विशेष महाधिवेशनको बहसले देशलाई समेत अस्थिरतातर्फ धकेल्न सक्ने निष्कर्ष निकाल्दै कांग्रेस एकताबद्ध भएर निर्वाचन तयारीमा जुट्नुपर्नेमा जोड दिएको छ।
निर्वाचनपछिको नियमित महाधिवेशनमा पार्टीभित्रका सबै सुधारका एजेन्डा खुला छलफलमा ल्याउन सकिने पनि बैठकको निर्णयमा उल्लेख छ। साथै, पार्टी विधान अनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केन्द्रीय समितिलाई मात्र रहेको स्पष्ट पारिएको छ।
यसैगरी, व्यक्तिगत रूपमा बोलाइने अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने गतिविधि विधान विपरीत हुने ठहर गर्दै यस्ता गतिविधिमा संलग्न नहुन कांग्रेसले सबैलाई अपिल गरेको छ।