वालिङ।
स्याङ्जाको भीरकोट नगरपालिका–७ बाट यस वर्ष मात्रै दश करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको छ। वडाभित्रका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट उल्लेख्य आम्दानी भित्रिएको हो।
वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग सङ्कलित तथ्याङ्कका आधारमा चालु वर्षमा मात्र भीरकोट–७ बाट दश करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष तारा अर्यालले जानकारी दिए। जिमिरे, लोलुङ्गा, बलमाटा, तिलाहार, पाङसाङ, पासिनडाँडा, कोलडाँडा, धोवादीलगायत टोलका सुन्तला व्यावसायी कृषकहरूले न्यूनतम एक लाखदेखि अधिकतम ३५ लाख रुपैयाँसम्म आम्दानी गरेका छन्।
कृषकहरूले उत्पादन भएको सुन्तला ठेक्कामा तथा प्रतिकिलो ७० रुपैयाँका दरले बोटबाटै बिक्री गरेका हुन्। “सुन्तला उत्पादक कृषकहरूले बिक्री गरेको परिमाण र मूल्यका आधारमा गणना गर्दा दश करोड रुपैयाँभन्दा बढी आम्दानी भएको देखिएको छ,” वडाध्यक्ष अर्यालले भने, “वडामा सुन्तला बगैँचा विस्तार हुँदै गएकाले आगामी वर्षहरूमा उत्पादनसँगै आम्दानी पनि वृद्धि हुने अपेक्षा गरिएको छ।”
सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि परम्परागत रूपमा कोदो र मकै खेती हुने बारीहरूमा समेत सुन्तला बगैँचा विस्तार गर्ने क्रम बढ्दै गएको छ। सुन्तलाको पकेट क्षेत्रका रूपमा परिचित भीरकोट–७ मा तीन वर्षअघि बगैँचा विस्तार कार्यक्रम सञ्चालन गरिएको थियो। आम्दानीसँग जोड्ने उद्देश्यले थप ५०० रोपनी क्षेत्रफलमा १५ हजार ५०० सुन्तलाका बिरुवा रोपिएको छ।
कृषकलाई सुन्तलाखेतीप्रति थप आकर्षित गर्न सुन्तला बगैँचा व्यवस्थापन शिविर, उपकरण वितरण, रोग तथा कीरा नियन्त्रणसम्बन्धी सहजीकरण र प्राविधिक परामर्श प्रदान गरिएको वडाध्यक्ष अर्यालले बताए।
यहाँ उत्पादन भएको सुन्तला काठमाडौँ, पोखरा, बुटवल, नारायणगढलगायतका प्रमुख बजार तथा स्थानीय बजारमा खपत हुने गरेको छ। “ज्याला र ढुवानीसहित प्रतिकिलो ७० रुपैयाँका दरले व्यापारीले बोटबाटै सुन्तला लैजाने भएकाले बजारको कुनै समस्या छैन,” उनले भने।
भीरकोट–७ जिमिरेका सुन्तला कृषक देवीलाल अर्यालले यस वर्ष १५ लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गरेका छन्। त्यस्तै, सोही वडाको लोलुङ्गाका ७१ वर्षीय लालप्रसाद कोइरालाले पनि यस वर्ष १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्। अधिकांश सुन्तला बिक्री भइसकेका छन् भने केही बगैँचामा अझै बिक्री प्रक्रिया जारी छ।
जिल्ला समग्रमा हेर्दा स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोड रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ स्याङ्जाकी सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार चालु वर्षमा जिल्लामा कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको हो। यो गत वर्षको तुलनामा करिब २० करोड रुपैयाँ बढी मूल्यको उत्पादन हो। गत वर्ष स्याङ्जामा २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।