काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग भएको सहमति १२ दिनमै तोडिँदै उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङ पार्टीबाट बाहिरिएका छन्। उनले आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टीलाई स्वतन्त्र रूपमा अघि बढाउने निर्णय गर्दै अध्यक्षको जिम्मेवारीसमेत ग्रहण गरिसकेका छन्।
रास्वपासँगको सम्झौता औपचारिक रूपमा रद्द भएको घोषणा गर्दै उज्यालो नेपाल पार्टीले रवि लामिछाने र बालेन शाह समूह मिलेर आफूहरूलाई झुक्याएको आरोप लगाएको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा उनेपाका नवअध्यक्ष घिसिङले सहमतिमा कुनै समस्या नभएको तर त्यसलाई कार्यान्वयन गर्न नदिइएको दाबी गरे।
“हाम्रो माग छिटो कार्यान्वयनतर्फ जाने मात्र थियो,” उनले भने, “तर अन्ततः हामीलाई पार्टी छाड्न बाध्य पारियो।”
घिसिङका अनुसार जेनजी आन्दोलनका घाइते, सहिद परिवार तथा सुधन गुरुङलगायतको दबाबका कारण समानुपातिक सूची बुझाउने अन्तिम दिनमा सहमतिमा जानुपरेको थियो। तर पछि आफूहरूले धोका पाएको उनको आरोप छ।
“पदको बार्गेनिङ भयो भन्ने प्रचार गलत हो,” उनले भने, “उपाध्यक्षमा वरीयतामा तल भए पनि सहेर बसेँ। अन्तिम अवस्थामा साधारण सदस्य भएरै बस्न तयार थिएँ, तर सहमति स्वीकार गरिएन।”
समावेशिता र संघीयताका विषयमा पूरक सम्झौता गर्न माग गरिएको भए पनि सुरुमा सहमति जनाएर पछि अस्वीकार गरिएको घिसिङको भनाइ छ।
उज्यालो नेपालका एक पदाधिकारीले त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा कुरा गर्दै रवि लामिछाने र बालेन शाहतर्फ संकेत गर्दै एक्ल्याउने काम त्यहीँबाट सुरु भएको टिप्पणी गरे।
“हामी एकता होइन, अलायन्समा जाने योजनामा थियौँ,” उनले भने, “तर अन्तिम समयमा हामीलाई अलमल्याइयो, जुन रणनीति रहेछ।”
उनका अनुसार पार्टी निर्माणको प्रारम्भिक चरणमै रास्वपाका केही नेताबाट भ्रमपूर्ण प्रस्ताव आएको थियो।
“सहमति भएपछि हामीले नाम बुझायौँ, तर सिनियर नेतालाई पन्छाएर राजनीति नै नबुझेका युवालाई अघि सारियो,” उनले भने, “त्यसपछि सम्बन्ध चिसिएको हो।”
त्यसपछि आफूहरू पटक–पटक निर्वाचन आयोग पुगेर उज्यालो नेपालका तर्फबाट सूची बुझाउन मिल्ने व्यवस्था गरिदिन आग्रह गरेको तर सम्भव नभएको जवाफ पाएको उनले बताए।
यद्यपि घिसिङले सकेसम्म समानुपातिक सूचीमै मिलाउने प्रयास जारी राख्ने र नभए १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष उम्मेदवारी दिने घोषणा गरे।
“छोटो समयमा जति सकिन्छ, त्यति गर्छौँ,” उनले भने, “सहकार्य चाहने सबैसँग हातेमालो गरेर अघि बढ्छौँ।”
उता, रास्वपाले भने उनेपाको आरोपको खण्डन गरेको छ। घिसिङ बाहिरिएको भोलिपल्ट बसेको रास्वपाको सचिवालय बैठकमा सभापति रवि लामिछानेले अन्तिमसम्म सहमतिको प्रयास भए पनि मिलाउन नसकिएको ब्रिफिङ गरेका थिए।
रविनिकट एक पदाधिकारीका अनुसार उज्यालो नेपालले वरिष्ठ उपाध्यक्ष, महामन्त्रीसहित थप पदाधिकारी, सचिवालय सदस्य तथा प्रत्यक्ष निर्वाचन सिटको भागबण्डासमेत माग गरेकाले सहमति कठिन बनेको हो।
यसैबीच, रास्वपाको सचिवालय बैठकले उनेपासँगको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता मनिष झाले दिएको जानकारीअनुसार, नयाँ राजनीतिक शक्तिहरूको लक्ष्य पद बाँडफाँड नभई लोकतान्त्रिक सुशासन, सार्वजनिक उत्तरदायित्व र सामाजिक न्याय हुनुपर्ने स्पष्ट मान्यताका आधारमा निर्णय गरिएको हो।
यद्यपि, १२ दिनको सहकार्य अनुमोदन नभए पनि रास्वपाले उज्यालो नेपाल पार्टीको आगामी राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ।