काठमाडौं ।
शीर्ष नेताहरूको अनुपस्थितिले वैधानिकतामाथि प्रश्न
नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आजदेखि सुरु गर्न लागेको कार्यक्रमलाई लिएर पार्टीभित्र विवाद चर्किएको छ । आयोजक पक्षले यसलाई ‘विशेष महाधिवेशन’ दाबी गरिरहँदा संस्थापन पक्षले भने यसलाई असन्तुष्टहरूको भेला मात्र भएको टिप्पणी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायत अधिकांश शीर्ष नेताहरू कार्यक्रममा सहभागी नहुने भएपछि यसको वैधानिकतामाथि प्रश्न उठेको छ ।
संस्थापन पक्षका नेताहरूले महाधिवेशनका नाममा पार्टी फुटाउने प्रयास भइरहेको आरोप लगाएका छन् । उनीहरूका अनुसार केन्द्रीय तहबाट औपचारिक निर्णय नभएको अवस्थामा बोलाइएको कार्यक्रमलाई महाधिवेशन मान्न नसकिने स्पष्ट छ ।
आयोजक पक्षले भने तयारी पूरा भएको दाबी गरेको छ । भृकुटीमण्डपको खुला चौरमा हुने उद्घाटन सत्रका लागि मञ्च सजावट, ध्वनि प्रणाली तथा अतिथि व्यवस्थापन सम्पन्न भएको मञ्च व्यवस्थापन समितिले जनाएको छ । समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार मञ्चमा ५० जना अतिथि अटाउने व्यवस्था गरिएको छ भने खुला चौरमा ६ हजारभन्दा बढी कुर्सी राखिएको छ । उपत्यकाका विभिन्न स्थानबाट आउने ¥यालीलाई व्यवस्थित रूपमा कार्यक्रममा सहभागी गराउने तयारी पनि गरिएको छ ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा हुन लागेको कार्यक्रममा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी आयोजकको छ । उद्घाटन सत्र आज दिउँसो हुने जनाइएको छ । यता, चन्द्र भण्डारी र सुनील शर्मालगायत केही नेताहरू भने पार्टी विभाजन रोक्न आन्तरिक संवादमा जुटिरहेका छन् ।
४७ जिल्ला सभापति र ५ प्रदेश सभापति विपक्षमा
विशेष महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसका ५ प्रदेश सभापति र ४७ जिल्ला सभापतिले संयुक्त विज्ञप्ति जारी गर्दै कार्यक्रमको विपक्षमा उभिएका छन् । उनीहरूले अहिले पार्टीले आमचुनावको तयारीमा केन्द्रित हुनुपर्ने भन्दै विशेष महाधिवेशनको औचित्य नभएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, “यस गम्भीर राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस अन्य भेला–समारोहमा अल्मलिनुभन्दा संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भई फागुन २१ को निर्वाचनमा सक्रिय रूपमा केन्द्रित हुन आवश्यक छ ।”
उनीहरूले १८ पुसमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १५औँ नियमित महाधिवेशनको कार्यतालिका वैशाख २८–३१ का लागि तय गरिसकेको अवस्थामा विशेष महाधिवेशन बोलाउनु असंवैधानिक र अनावश्यक भएको दाबी गरेका छन् । विशेष महाधिवेशन आह्वान गर्ने अधिकार केन्द्रीय तहमा मात्र रहेको वैधानिक व्यवस्था स्मरण गराउँदै उनीहरूले वार्ता र संवादमार्फत पार्टी एकता जोगाउन नेतृत्वलाई आग्रह गरेका छन् ।
विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र मतभेद तीव्र बनेको छ । आज सुरु हुने कार्यक्रमले पार्टी एकता मजबुत बनाउने कि थप विभाजनको जोखिम बढाउने—यसले कांग्रेसको आन्तरिक राजनीतिमा निर्णायक मोड ल्याउने देखिएको छ ।