काठमाडौँ
भारत र श्रीलंकामा आयोजना हुन लागेको आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट सुरु हुन अब एक महिनाभन्दा कम समय बाँकी रहँदा बंगलादेशको सहभागिता अझै निश्चित हुन सकेको छैन । भारत र बंगलादेशबीच देखिएको कूटनीतिक तनावका कारण बंगलादेशले प्रतियोगितामा भाग नलिने सम्भावना बढ्दै गएको हो ।
बंगलादेश प्रतियोगिताको नेपालसमेत रहेको समूह ‘सी’ मा परेको हुँदा यस विषयले नेपाली क्रिकेट वृत्तमा पनि चासो बढाएको छ । उक्त समूहमा इंग्ल्यान्ड, वेस्ट इन्डिज र इटाली पनि रहेका छन् ।
यदि बंगलादेश प्रतियोगिताबाट बाहिरिने अवस्था आयो भने बाँकी चार टोलीमध्ये दुई टोलीले ‘सुपर एट’ चरणमा स्थान बनाउनेछन् । यसले समूह चरणका खेल अझ रोमाञ्चक मात्र नभई फरक खालका हुने अपेक्षा गरिएको छ । सुपर एट प्रवेशका लागि दुई टेस्ट राष्ट्र बलिया प्रत्याशी मानिए पनि नेपालसहित दुई एसोसिएट राष्ट्रका लागि अप्रत्यासित नतिजाबाट नकआउट चरणमा पुग्ने सम्भावना बढ्ने देखिन्छ ।
पछिल्लो घटनाक्रमअनुसार बंगलादेशी सञ्चारमाध्यमहरूले बंगलादेशको सहभागिता अझै अनिश्चित रहेको जनाएका छन् । यसले बंगलादेशी क्रिकेटलाई नै अन्योलमा पारेको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) बीचको तनावका कारण यस्तो स्थिति उत्पन्न भएको बताइन्छ ।
बीसीबीले आफ्नो खेल भारतको सट्टा श्रीलंकामा सार्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) समक्ष पुनः अनुरोध गरेको छ । यसअघि पनि सुरक्षाको कारण देखाउँदै बीसीबीले यस्तै प्रस्ताव राखेको थियो । तर आईसीसीले उक्त प्रस्ताव अस्वीकार गर्दै प्रतियोगितामा सहभागी नभए त्यसलाई ‘वाकओभर’ मानिने चेतावनी दिएको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइसकेको छ ।
यसबीच, यदि बंगलादेशले विश्वकपमा सहभागिता नजनाए त्यसको ठूलो आर्थिक असर त्यहाँको समग्र क्रिकेटमा पर्ने आकलन गरिएको छ । बंगलादेशी क्रिकेट ठूलो मात्रामा भारतमा निर्भर रहेकाले पनि बीसीबी थप दबाबमा परेको देखिन्छ ।