बेलायत
पूर्व गोर्खा र पर्वतारोही हरि बुढामगरले कृत्रिम खुट्टाको सहायतामा विश्वका सातै महादेशका उच्च शिखर सफलतापूर्वक आरोहण गरेका छन्। पुस २२ गते करिब माइनस २५ डिग्री सेल्सियस चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन (४,८९२ मिटर) आरोहण गरेका उनले आफ्नो उपलब्धिलाई अपाङ्गता भएकापनि असम्भव चुनौती पार गर्ने प्रेरणाको उदाहरणका रूपमा प्रस्तुत गरे।
४६ वर्षअघि रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मेका बुढामगरले भने, “शरीरको कुनै अङ्गमा खोट भए पनि जीवन निरर्थक हुँदैन। फरक क्षमता भएका व्यक्तिले पनि आफ्नो क्षमता पहिचान गरी हरेक दिन सपनाको सगरमाथा चढ्न सक्छ।”
उनका अनुसार माउन्ट भिन्सन आरोहण गर्दा तीव्र हावा र कठोर चिसोले चुनौतीपूर्ण अनुभव दिएका थिए। “म कहिलेकाहीँ आफैं माथि शंका गर्थेँ, तर विश्वास र आत्मविश्वासले मलाई लक्ष्यतर्फ अघि बढायो,” उनले अनुभव सुनाए।
बुढामगरले यसअघि सगरमाथा (८,८४८.८६ मिटर), माउन्ट किलिमन्जारो (५,८९५ मिटर), डेनाली (६,१९० मिटर), एकोनकागुआ (६,९६१ मिटर), पुन्चाकजयु (४,८८४ मिटर) र मोन्ट ब्ल्याङ्क (४,८०९ मिटर) आरोहण गरिसकेका छन्। अन्टार्टिकाको माउन्ट भिन्सन आरोहणपछि उनले दुवै खुट्टाको घुँडामुनि भाग गुमाएका भए पनि सातै महादेशका उच्च शिखर आरोहण गर्ने नयाँ किर्तिमान कायम गरे।
उनले भने, “आँखाले देखेजति क्षितिजसम्म हिउँले ढाकेको थियो। यो चमत्कारिक र स्वर्गजस्तै अनुभूति थियो।” बुढामगरको यो सफलताले विश्वका अपाङ्गता भएका व्यक्तिलाई चुनौती सामना गर्न र आफ्नो सपना पुरा गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।
गिनिज वर्ल्ड रेकर्ड्सले समेत उनलाई मान्यता दिएको यस उपलब्धिले नेपाल र नेपाली पर्वतारोहणको गौरव बढाएको छ।