म्याग्दी।
‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन’ भनाइले धवलागिरि गाउँपालिका–१ मा रहेको गुर्जाको दुर्गमता दर्शाउँछ। हालसम्म पैदल यात्रा बाहेक पहुँचको सहज माध्यम नभएको यस गाउँलाई चालु आर्थिक वर्षभित्रै सडक सञ्जालसँग जोड्ने तयारी सुरु गरिएको छ।
धवलागिरि गाउँपालिकाले लुलाङ–गुर्जा सडक योजनामार्फत करिब चार किलोमिटर नयाँ ट्र्याक निर्माण गर्ने लक्ष्य राखेको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए। उनले भने, “आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको लुलाङ–गुर्जा सडक योजना गाउँपालिकाको गौरवको प्राथमिकतामा पर्छ। यसअघि तीन वर्षमा लुलाङदेखि भैसीमानेसम्म करिब १८ किलोमिटर सडक मार्ग खुलिसकेको थियो।”
चालु आर्थिक वर्षको योजना अनुसार रु. १ करोड ७० लाख बजेट विनियोजन गरिएको छ। ठेकेदार कम्पनी लुलु कन्स्ट्रक्सनले भैसीमाने खाल्टादेखि झिरसोसम्म करिब एक किलोमिटर सडक खोलिसकेको छ। यसै महिनामा रु. ८८ लाख ८५ हजारमा थप ठेक्का सम्झौता पनि भएको छ।
वडाअध्यक्ष झकबहादुर छन्त्यालका अनुसार, “थप चार किलोमिटर सडक खुलेपछि गुर्जा अब यातायात सञ्जालमा जोडिनेछ। दुई वर्षअघि सम्म गुर्जादेखि लुलाङ पुग्न पूरै दिन भिर, जङ्गल र खोल्साको पैदल यात्रा गर्नुपर्थ्यो। अहिले झिरसोसम्म गाडीले पुग्ने भएपछि ३० मिनेट पैदल हिँडेर गुर्जा पुग्न सकिन्छ। गाडी चल्न थालेपछि दुई घण्टा ३० मिनेटमा गाउँपालिकाको केन्द्र मुना, पाँच घण्टामा बेनी र सात घण्टामा पोखरा पुग्न सम्भव हुनेछ।”
मार्ग विस्तारका साथै विभिन्न स्थानमा ग्यावियन, मेसिनरी र पर्खाल निर्माण भइरहेको छ। सङ्घीय सरकारले तीन करोड र गण्डकी प्रदेश सरकारले रु. ५० लाख विनियोजन गरी सडकको ग्रेड मिलाउने, साँघुरो ठाउँ फराकिलो पार्ने र पक्की नाला बनाउने काम भइरहेको छ।
गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि प्रदेश सरकारले ठेक्का सम्झौता गरेको छ। सडकले दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री ढुवानी र बिरामीलाई अस्पताल पुर्याउन सहज बनाउने अपेक्षा गरिएको छ।
गुर्जामा छन्त्याल र दलित समुदायको बसोबास रहेको छ। ६५ घरधुरीको बस्तीमा १,५०५ जनसंख्या बसोबास गर्छ। सडक पहुँच नहुँदा खच्चड, घोडा र भरियामार्फत खाद्यान्न तथा निर्माण सामग्री ढुवानी महँगो पर्थ्यो। अब सडक सञ्जालसँग जोडिएपछि बासिन्दालाई जीवन सहज हुने र आन्तरिक पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ।