काठमाडौँ।
संयुक्त विद्यार्थी संगठन र छ कम्युनिस्ट पार्टीहरूले भोलि २९ पुसमा काठमाडौँ उपत्यका बन्दको आह्वान गरेका छन्। उनीहरूले वर्तमान संसदीय व्यवस्थालाई ‘दलाल पूँजीवादी व्यवस्था’को संज्ञा दिँदै आसन्न निर्वाचन बहिष्कार गर्ने निर्णयसमेत गरेका छन्।
आज जारी संयुक्त प्रेस वक्तव्यमा पछिल्लो समय देखिएको ‘जेन–जी विद्रोह’लाई संसदीय राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको आरोप लगाइएको छ। विद्यार्थी संगठनहरूले जनाएका अनुसार उक्त विद्रोह केवल सरकार परिवर्तनका लागि नभई भ्रष्टाचार, बेरोजगारी र परनिर्भर व्यवस्थाविरुद्धको जनआक्रोश थियो।
वक्तव्यमा शिक्षा क्षेत्रमा बढ्दो निजीकरण र व्यापारीकरणले विद्यार्थीको भविष्य अन्धकार बन्दै गएको उल्लेख गर्दै, वर्तमान व्यवस्था कायम रहँदासम्म समस्या समाधान सम्भव नहुने निष्कर्ष निकालिएको छ।
बन्दका क्रममा सम्पूर्ण शिक्षण संस्था, यातायात, उद्योग–कलकारखाना, व्यापार–व्यवसाय तथा सरकारी र गैरसरकारी कार्यालयहरू बन्द गरी सहयोग गर्न आयोजकहरूले आग्रह गरेका छन्।
संयुक्त वक्तव्यमा अखिल (क्रान्तिकारी) का अध्यक्ष विरेन्द्र शाह, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराई, जनपक्षीय विद्यार्थी युनियनकी सुनिता बुढाथोकी लगायतका नेताहरूले हस्ताक्षर गरेका छन्। उनीहरूले वर्तमान व्यवस्थाको विकल्पका रूपमा स्वाधीन संयुक्त जनसरकार निर्माणका लागि गोलबद्ध हुन आह्वान गरेका छन्।