काठमाडौं।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध गरेर लैजान आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। कोइरालाले आफूनिकट केन्द्रीय सदस्य, जिल्ला पार्टी सभापति र वरिष्ठ कानुन व्यवसायीसँगको छलफलका क्रममा पार्टी विभाजन रोक्न निरन्तर संवादमा रहेको जानकारी दिएका हुन्।
छलफलमा उनले पार्टीलाई फुटबाट जोगाउन सबै पक्षसँग निरन्तर वार्ता गरिरहेको उल्लेख गर्दै, “म विष पिएरै भए पनि पार्टीभित्रको एकता कायम गरिछाड्ने अन्तिम प्रयासमा छु,” भने।
डा. कोइरालाले सभापति, कार्यवाहक सभापति र महामन्त्रीहरूसँग पनि पार्टी कुनै पनि हालतमा फुट्न नदिनुपर्ने विषयमा स्पष्ट रूपमा कुरा गरिरहेको बताए।
उनले भने, “तपाईंहरू ढुक्क हुनुस्, पार्टी फुट्दैन। तपाईंहरू पनि त्यसैमा लाग्नुस्, निरास हुने काम छैन।”
छलफलका क्रममा सहभागी कानुन व्यवसायीहरूले नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारेका थिए।
बैठकमा पार्टी उपसभापति धनराज गुरुङ, सह–महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल तथा वरिष्ठ अधिवक्ताहरू शेरबहादुर केसी, योगेन्द्र अधिकारी र उपेन्द्रकेशरी न्यौपाने लगायतको सहभागिता रहेको थियो।