काठमाडौँ।
नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीलाई विभाजनतर्फ धकेल्ने, पेल्ने वा कारबाही गर्ने प्रवृत्ति अस्वीकार्य भएको बताएका छन्। विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस संकटमा परेको खण्डमा देश पनि संकटमा पर्ने भएकाले सबै नेताहरू उच्च जिम्मेवारीका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
डा. शर्माले विवाद समाधानका लागि बनेको वार्ता समितिलाई मंगलबार बेलुकासम्म निष्कर्षमा पुग्न आग्रह गरेका छन्। उनले पार्टीभित्रका सबै मतभेदहरू संवादमार्फत टुंग्याउनुपर्नेमा जोड दिँदै कांग्रेस अहिले गम्भीर संकटको मोडमा रहेको बताएका छन्।
उनका अनुसार, पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विधानसम्मत ढंगले विशेष महाधिवेशन बोलाइदिन आग्रह गरे पनि केही पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरूले आफ्नो बहुमत रहेको बहस गर्दै जनताको चाहना, कार्यकर्ता र नेता चाहना अनुसार विशेष महाधिवेशन नबोलाएपछि वर्तमान स्थिति सिर्जना भएको हो।
डा. शर्माले वर्तमान विषम परिस्थितिमा पार्टी र भावी पुस्ताको भविष्यलाई ध्यानमा राखेर संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्ने स्पष्ट पारे। साथै, नेतृत्व हस्तान्तरणका लागि सभापति शेरबहादुर देउवालाई तयार रहन आग्रह गर्दै विशेष महाधिवेशन पक्षधरले पनि पार्टी एकता र आम कार्यकर्ता तथा पार्टीहितलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले भने, “सहमति भाँड्ने उश्रृंखल गतिविधिले पार्टीलाई कमजोर बनाउँछ। पार्टीभित्रका सबै मतभेदहरू संवादमार्फत टुंग्याइनुपर्छ।”