काठमाडौँ।
भारतको हिमाचल प्रदेश, सोलान जिल्लाको अर्की बजारमा घरमा आगलागी हुँदा दुई नेपालीको मृत्यु भएको छ भने सात जना बेपत्ता छन्। घटना सोमबार (पुस २८ गते) बिहान भएको थियो।
सल्यानको सिद्ध कुमाख गाउँपालिका वडा नं. २ का दुई परिवारका नौ जना आगलागीमा परेका थिए। मृत्यु भएका दुईजना नेपालीको शव भेटिएको छ र डिएनए परीक्षणपछि मात्रै पहिचान खुल्ने बताइएको छ।
नेपाल दूतावास, नयाँ दिल्लीका उपनियोग प्रमुख सुरेन्द्र थापाका अनुसार, बजार क्षेत्रमा आगोले वरपरका १०–१२ घर जलेको थियो र त्यहाँ रहेको ६–७ वटा ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली श्रमिकहरूको मृत्यु भएको आशंका गरिएको छ।
मृत्यु र बेपत्ता हुनेहरूमा सिद्ध कुमाख–२ का काशीराम कामी (४२), उनकी पत्नी टीका विक (३०), छोरी अनुकुमारी विक (१३), छोरा सन्दिप विक (८) र धनबहादुर विक (३३), उनकी पत्नी कविता विक (३२), छोरी राधा विक (१६), रेनुका विक (११) र छोरा राजन विक (१.६ वर्ष) छन्।
सिद्ध कुमाख–२ का वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार, आगलागीमा परेका सबै नौजना नेपालीको मृत्यु भएको जानकारी पाएपछि वडामा मंगलबार शोकबिदा दिइएको छ।
भारतीय मिडियाका अनुसार, आगलागी स्थानीय समयअनुसार बिहान साढे २ बजे सुरु भएको थियो र लगभग १०–१५ वटा पसल जलेर नष्ट भएका थिए। आगो बिहान साढे ६ बजे नियन्त्रणमा आएको थियो।