काठमाडौं ।
आगामी ३० पुसदेखि १७ वटा टोलीको सहभागितामा राष्ट्रिय लिग फुटबल प्रतियोगिता सुरु हुने भएको छ । लिगका खेलहरू काठमाडौं र ललितपुरका तीनवटा मैदान—दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदान—मा सञ्चालन हुनेछन् । प्रतियोगितामा कुल १ सय ३६ खेल खेलाइनेछ ।
लिग विजेताले नगद ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले २५ लाख र तेस्रो हुने टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, अनुशासित (फेयर प्ले) टिमलाई १ लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, न्युरोड टिम (एनआरटी), लालिगुराँस युवा क्लब, चित्लाङ एफसी, नवजनजागृति क्लब, काक्रेविहार स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब, फ्रेन्ड्स क्लब, एपीएफ क्लब, प्लानिङ ब्वाइज क्लब र श्री भगवती क्लब सहभागी छन् ।
उद्घाटन खेलमा काक्रेविहार स्पोर्ट्स क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने तय भएको छ ।