झापा ।
सधैं चुनावी चर्चामा रहने झापाको क्षेत्र नम्बर ५ यसपटक फरक बहसको केन्द्रमा पुगेको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले यही क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचन लड्ने सम्भावनाले यहाँको राजनीतिक तापक्रम चर्किएको हो।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली छ पटक निर्वाचित भइसकेको यो क्षेत्रलाई एमालेको बलियो आधार मानिन्छ। २०४८ सालदेखि २०७९ सालसम्म भएको प्रतिनिधिसभा निर्वाचनमा ओली एक पटक मात्रै पराजित भएका थिए। यस्तो पृष्ठभूमिमा बालेनले झापा–५ लाई सम्भावित संसदीय क्षेत्रको रोजाइ बनाउने संकेत गरेपछि नयाँ राजनीतिक बहस सुरु भएको हो।
बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने सम्भावना बढ्दै गएको उनी निकट नेताहरू बताउँछन्। रास्वपाका झापा अध्यक्ष प्रकाश पाठकले बालेन झापा–५ बाट उम्मेदवार बन्ने तयारी अन्तिम चरणमा पुगेको दाबी गरेका छन्। उनका अनुसार बालेन माघ ३/४ गते झापा आइपुग्ने र माघ ६ गते दमकमा उम्मेदवारी मनोनयन दर्ता गराउने कार्यक्रम तय भएको छ।
यद्यपि बालेनले हालसम्म काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका छैनन् भने औपचारिक उम्मेदवारी घोषणासमेत गरेका छैनन्। तर उनी ओलीविरुद्ध नै चुनाव लड्ने अडानमा रहेको र झापा–५ को वस्तुस्थिति अध्ययन गरेर निर्णय लिन लागेको बताइएको छ।
यस विषयमा एमाले झापाका अध्यक्ष प्रेम गिरीले बालेनको सम्भावित उम्मेदवारीलाई सामान्य रूपमा लिएको प्रतिक्रिया दिएका छन्। उनले भने, “बालेनजी जहाँबाट चाहनुहुन्छ त्यहाँबाट चुनाव लड्न पाउनुहुन्छ। हामी यसलाई पर्यटकीय उम्मेदवारको आगमनका रूपमा बुझ्छौं।”
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ओलीले ५२ हजार ३ सय १९ मत प्राप्त गर्दै छैटौं पटक जित हासिल गरेका थिए। कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २७ हजार ७ सय ४३ मत ल्याउँदा रास्वपाका सुरेशकुमार पोखरेल तेस्रो भएका थिए।
यसपटक झापा–५ मा मतदाता संख्या बढेर १ लाख ६३ हजार ३ सय ७९ पुगेको छ। अघिल्लो निर्वाचनभन्दा ९ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। यस क्षेत्रमा दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह नगरपालिकाका वडा १–८ तथा गौरीगन्ज गाउँपालिकाका वडा ३–६ पर्दछन्।
बालेनको सम्भावित प्रवेशसँगै झापा–५ को चुनाव अब केवल प्रतिस्पर्धामात्र नभई प्रतिष्ठा र राजनीतिक विद्रोहको लडाइँका रूपमा हेरिन थालेको छ।