काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माघी तथा मकर सङ्क्रान्तिको अवसरमा शुभकामना व्यक्त गरेका छन्। बिहीबार शुभकामना सन्देश जारी गर्दै उनले थारु समुदायको मुख्य पर्व माघी तथा मगर, छन्त्याललगायत विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्तिको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
प्रचण्डले माघी र माघे सङ्क्रान्तिलाई नेपाली समाजको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानको जीवन्त प्रतीकका रूपमा उल्लेख गरेका छन्। यी पर्वहरूले विविधताभित्रको एकता, आपसी सम्मान, भाइचारा र सामाजिक सद्भावको सन्देश प्रवाह गर्ने उनले बताएका छन्।
सन्देशमा उनले उत्तरायणको सुरुवातसँगै दिन लम्बिँदै र रात छोटिँदै जाने प्राकृतिक प्रक्रियालाई राष्ट्रिय जीवनसँग जोड्दै अन्धकार हटेर उज्यालो, प्रगति र समृद्धिको नयाँ युग सुरु हुने विश्वास व्यक्त गरेका छन्।
तराईदेखि हिमालसम्मका नेपालीहरूले परिवारसँग बसेर खिचडी, घिउ, चाकु तथा विभिन्न परिकारको स्वाद लिँदै यो पर्व मनाउने परम्पराले आपसी आत्मीयता र सामूहिक भावना मजबुत बनाउने प्रचण्डको भनाइ छ। यस्तो सामाजिक एकताले समाजलाई अझ सुदृढ र बलियो बनाउने उनले उल्लेख गरेका छन्।
शुभकामना सन्देशमार्फत प्रचण्डले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै संविधानको पूर्ण कार्यान्वयनमा जोड दिएका छन्। राष्ट्रिय एकता, शान्ति, सुशासन र समृद्ध नेपालको लक्ष्य हासिल गर्न सबैलाई एकजुट भएर अघि बढ्न उनले अपिलसमेत गरेका छन्।