काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संस्थापन पक्षले आफूहरूलाई निष्कासन गर्ने निर्णय गरेकोप्रति कडा प्रतिक्रिया दिएका छन्। बुधबार विशेष महाधिवेशन स्थलमा सम्बोधन गर्दै उनले पार्टीलाई निजी कम्पनीजस्तो व्यवहार गरिएको भन्दै प्रश्न उठाएका हुन्।
थापाले बाहिर जस्तोसुकै निर्णय भए पनि समझदारीका लागि हलभित्रै आएर छलफल हुनुपर्ने बताए। उनले भने, “बाहिर जे जस्तो निर्णय भए पनि समझदारीका लागि हलभित्र आउनै पर्छ। मैले समाचार सुनेँ—नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले दुई जना महामन्त्री र एक जना सहमहामन्त्रीलाई निकाल्यो रे ! पार्टी तपाईँहरूको निजी कम्पनी हो र निकाल्नलाई ? हामीलाई कसैले ‘घरभित्र आऊ’ भनेको होइन, ‘जा’ भनेर जानलाई।”
उनले विशेष महाधिवेशनले निर्वाचन आयोगलाई समयमै जानकारी गराइसकेको दाबी गर्दै संस्थापन पक्षको वैधानिकतामाथि प्रश्न उठाए। शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको र आफूहरू नयाँ कार्यसमिति चयनको प्रक्रियामा रहेको उनको भनाइ छ।
“तपाईंहरूलाई मात्रै निर्वाचन आयोग थाहा छ ? यही ठाउँबाट सुरु भएको विशेष महाधिवेशनको जानकारी निर्वाचन आयोगलाई समयमा नै गराइसकिएको छ। शेरबहादुर देउवाको नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ र हामी नयाँ कार्यसमिति चयन गर्दैछौँ,” थापाले भने।
थापाले आफूलाई कारबाही गर्ने निर्णय अघि स्पष्टिकरणसमेत नसोधिएको भन्दै आक्रोश व्यक्त गरे। “म पार्टीको महामन्त्री हुँ। कारबाही गर्नुअघि एकपटक सोध्नुपर्दैन ? स्पष्टिकरण माग्नुपर्दैन ? निजी कम्पनीमा समेत यसरी सोधिन्छ,” उनले भने।
उनले पार्टी नफुट्ने दाबी गर्दै आधिकारिक नेपाली कांग्रेस यही पक्ष भएको जिकिर गरे। प्रधानमन्त्रीको उम्मेदवार जो बनाएर गए पनि हुने बताए पनि शेरबहादुर देउवालाई पुनः प्रधानमन्त्रीको उम्मेदवार बनाउनु नैतिक रूपमा स्वीकार्य नहुने धारणा उनले व्यक्त गरे।