सुनसरी । माघे सङ्क्रान्तिको बिहानै सुनसरीको भोक्राहानर्सिङमा भएको ट्रक दुर्घटनामा परी पाँच जना मजदुरको मृत्यु भएको छ । दुर्घटनापछि आक्रोशित स्थानीयवासीले सुनसरीको बर्जु गाउँपालिकास्थित शुक्रबारे चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन् ।
आफ्नै वडाका पाँच जनाको अकालमा मृत्यु भएपछि बर्जु गाउँपालिका–१ का स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा दोषी चालकलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका कारण सो क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको छ ।
यसरी भयो दुर्घटना
हुलाकी राजमार्गअन्तर्गत सुनसरीको भोक्राहानर्सिङ–८, सोनियाहीमा बिहीबार बिहान करिब ५ः३० बजे विराटनगरबाट सप्तरीको राजविराजतर्फ जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
टायल र मार्बल बोकेको उक्त ट्रक तीव्र गतिका कारण घुम्तीमा अनियन्त्रित भई पल्टिएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार ट्रकको पछाडिपट्टि सामानमाथि बसेका पाँच जना मजदुर टायल र मार्बलले थिचिएर घटनास्थलमै ज्यान गुमाएका हुन् ।
दुर्घटनामा मृत्यु हुने सबै पाँच जना सुनसरीको बर्जु गाउँपालिका–१ का बासिन्दा रहेका छन् । मृतकमा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेव गुरुङ, ५० वर्षीय टंक गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्र गुरुङ रहेका छन् ।
ट्रकमा चालकसहित कुल नौ जना सवार थिए । क्याबिनमा सवार चार जनामध्ये तीन जना सामान्य घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै ट्रक चालक फरार रहेका छन् । प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको जनाएको छ । यद्यपि, शव पोस्टमार्टमका लागि लगिए पनि अझै प्रक्रिया पूरा नभएको स्थानीयवासीको भनाइ छ ।