काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि आवश्यक भएको दाबी गरेपछि युरोपेली नाटो सदस्य राष्ट्रहरूले ग्रीनल्याण्डमा सीमित सैन्य उपस्थिति जनाएका छन्।
बीबीसीका अनुसार फ्रान्स, जर्मनी, स्विडेन, नर्वे, फिनल्यान्ड, नेदरल्यान्ड्स र बेलायतका साना सैन्य टुकडीहरू डेनमार्कको नेतृत्वमा सञ्चालन भइरहेको ‘अपरेशन आर्कटिक एन्ड्युरेन्स’ अन्तर्गत ग्रीनल्याण्डको राजधानी नुक पुगेका छन्। फ्रान्सले प्रारम्भिक चरणमा १५ सैनिक पठाएको छ भने जर्मनीले १३ सैनिकसहितको ए–४०० एम सैन्य विमान तैनाथ गरेको जनाएको छ।
फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले स्थल, आकाश तथा समुद्री साधनसहित थप सैन्य बल चाँडै पठाइने जानकारी दिनुभएको छ। फ्रान्सका वरिष्ठ कूटनीतिज्ञ ओलिभिए प्वाभ्र द आर्भोरले यस कदमलाई ‘राजनीतिक सन्देश दिने पहिलो अभ्यास’को संज्ञा दिँदै नाटो ग्रीनल्याण्डमा उपस्थित रहेको स्पष्ट सन्देश दिन खोजिएको बताउनुभएको छ।
यसैबीच, डेनमार्क र ग्रीनल्याण्डका विदेश मन्त्रीहरूले वासिङ्टनमा अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग भेटवार्ता गरे पनि दुवै पक्षबीच ‘मौलिक असहमति’ कायमै रहेको डेनमार्कले जनाएको छ। राष्ट्रपति ट्रम्पले भने ग्रीनल्याण्ड अमेरिकाका लागि अपरिहार्य रहेको दोहोर्याउँदै आवश्यक परे बल प्रयोगको विकल्प अस्वीकार नगर्ने संकेत दिनुभएको छ।
पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले ग्रीनल्याण्डमा अमेरिकी सैन्य हस्तक्षेप भए नाटोका लागि ‘राजनीतिक विपत्ति’ निम्तिन सक्ने चेतावनी दिनुभएको छ। उता, रुसले नाटोले आर्कटिक क्षेत्रमा सैन्य उपस्थिति बढाएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।
ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले आफ्नो भूमि अमेरिकाको स्वामित्व वा शासन स्वीकार्य नहुने स्पष्ट पार्नुभएको छ। सैनिक तैनाथी संख्या सानो भए पनि यसलाई आर्कटिक क्षेत्रमा नाटोको बढ्दो रणनीतिक चासो र ट्रम्प प्रशासनप्रति युरोपेली राष्ट्रहरूको स्पष्ट राजनीतिक सन्देशका रूपमा हेरिएको छ।