काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनेसोटामा जारी प्रदर्शन नियन्त्रणमा नआए सेना परिचालन गर्ने चेतावनी दिनुभएको छ।
मिनेसोटाको मिनियापोलिसमा एक साताअघि अध्यागमन अधिकारीले गोली हानी एक महिलाको हत्या गरेपछि सुरु भएको प्रदर्शन पछिल्ला दिनहरूमा चर्किँदै गएपछि ट्रम्पले यस्तो चेतावनी दिनुभएको हो।
प्रदर्शन साम्य नभए १९ औँ शताब्दीको विद्रोह नियन्त्रणसम्बन्धी कानुन ‘इन्सरेक्शन एक्ट’ प्रयोग गरी मिनियापोलिसमा सेना परिचालन गर्ने ट्रम्पले धम्की दिनुभएको छ। ट्रुथ सोसलमा लेख्नुभएको पोस्टमा उहाँले भन्नुभएको छ,
“यदि मिनेसोटाका भ्रष्ट नेताहरूले कानुन कार्यान्वयन नगरी अध्यागमन अधिकारीहरूमाथि आक्रमण गर्न पेशेवर विद्रोहीहरूलाई नरोके इन्सरेक्शन एक्ट प्रयोग गर्नेछु।”
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले उक्त कानुन प्रयोग गर्ने वा नगर्ने अन्तिम निर्णय राष्ट्रपतिको अधिकार क्षेत्रभित्र पर्ने बताउनुभएको छ।
ट्रम्पको चेतावनीपछि संघीय सरकार र राज्य सरकारबीच द्वन्द्व चर्किने संकेत देखिएको भन्दै फाइनान्सियल टाइम्सले टिप्पणी गरेको छ। यो चेतावनी मिनियापोलिससहित देशभरको संवेदनशील अवस्थाकै बीच आएको हो।
गत साता मिनियापोलिसमा इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) का एक अधिकारीले ३७ वर्षीया अमेरिकी नागरिक रेनी निकोल गुडलाई कारमै गोली हानी हत्या गरेका थिए। घटनाको भिडियो सार्वजनिक भएपछि आईसीईको कार्यशैलीविरुद्ध व्यापक आक्रोश र प्रदर्शन सुरु भएको थियो।
तर ट्रम्प र उहाँका सहयोगीहरूले उक्त अधिकारीको बचाउ गर्दै अध्यागमन अधिकारीहरूप्रति समर्थन दोहोर्याउँदै आएका छन्। ट्रम्प प्रशासनले मिनियापोलिससहित अन्य सहरहरूमा थप अध्यागमन अधिकारी तैनाथ गर्ने तयारीसमेत गरिरहेको छ।
यसैबीच, होमल्यान्ड सेक्युरिटी विभागले बुधबार राति अर्को घटनामा एक संघीय अधिकारीले एक भेनेजुएलाली आप्रवासीलाई गोली हानी घाइते बनाएको पुष्टि गरेको छ। विभागका अनुसार पक्राउ प्रयासका क्रममा ती व्यक्ति अध्यागमन अधिकारीमाथि जाइलाग्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाइएको थियो। गोली उनको खुट्टामा लागेको बताइएको छ।
मिनेसोटाका राज्य तथा स्थानीय अधिकारीहरूले संघीय सरकारकै कदमका कारण मिनियापोलिसमा हिंसा बढेको दाबी गर्दै आईसीई एजेन्टहरूलाई शहर छाड्न आग्रह गर्दै आएका छन्। मिनियापोलिसका मेयर ज्याकब फ्रेले बुधबार रातिको गोलीकाण्डपछि आयोजित पत्रकार सम्मेलनमा संघीय सरकारले आफ्नो सहरमा हिंसा भड्काउन खोजेको आरोप लगाउनुभयो।
“अमेरिकामा दुई सरकारी निकाय एक–अर्कासँग लडिरहेको अवस्था हुनु हुँदैन,” उहाँले भन्नुभयो।
इन्सरेक्शन एक्ट अन्तिम पटक सन् १९९२ मा क्यालिफोर्नियाका गभर्नरको अनुरोधमा तत्कालीन राष्ट्रपति जर्ज एच. डब्ल्यू. बुशले लस एन्जलस दंगापछि प्रयोग गर्नुभएको थियो। अहिले ट्रम्पले पुनः यही कानुन प्रयोग गर्ने संकेत दिएसँगै मिनेसोटामा राजनीतिक र सामाजिक तनाव थप गहिरिने देखिएको छ।