काठमाडौं ।
शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले विशेष महाधिवेशन पक्षका ८८५ जना महाधिवेशन प्रतिनिधिले आफ्नो हस्ताक्षर फिर्ता लिएको दाबी गरेको छ।
शुक्रबार निर्वाचन आयोग पुगेका देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको छलफलमा उक्त दाबी प्रस्तुत गरेका हुन्।
खड्काका अनुसार हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिमध्ये ८८५ जनाले हस्ताक्षर फिर्ता लिएको भन्दै केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको र सोही निवेदन आयोगमा बुझाइएको छ। उनले भने, ‘हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिमध्ये ८८५ जनाले फिर्ता लिएको भन्दै केन्द्रीय कार्यालयमा निवेदन आएको छ, जुन यहाँ दिएका छौं।’
यसअघि बहुमत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पक्षमा हस्ताक्षरसहितका कागजात बिहीबार नै निर्वाचन आयोगमा बुझाइसकेका छन्। सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत पदाधिकारीहरू आयोग पुगेर आवश्यक दस्तावेज बुझाएका थिए।
छलफलका क्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले विधि, पद्धति, कानून र संविधानको सीमाभित्र रहेर मात्रै निर्णय गर्ने स्पष्ट पारे। उनले भने, ‘हामीले छलफल गर्न चाहेका थियौं, तपाईंहरू आफैं आउनुभयो। विधि र पद्धति छ, कानून र संविधान छ। हामी विधि र पद्धतिबाहिर गएर निर्णय गर्दैनौं। केही प्रमाण ल्याउनुभएको छ भने दिन म अनुरोध गर्छु।’