काठमाडौँ।
आज राष्ट्रिय योग दिवस। ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ देशभर राष्ट्रिय योग दिवस मनाइँदैछ। विसं २०७२ साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्यका लागि योग अपरिहार्य बन्दै गएको छ।
राष्ट्रिय योग दिवसको सन्दर्भमा योगका विभिन्न आयामबारे योग तथा प्राकृतिक चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय योग विज्ञान स्नातकोत्तर कार्यक्रमका प्राडा क्षितिज बराकोटीसँग राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता अशोक घिमिरेले गर्नुभएको कुराकानीको सम्पादित अंश यस प्रकार छ।
वास्तवमा योग के हो भन्ने प्रश्नमा बराकोटीले योग शब्दको उत्पत्ति ‘जोड’ बाट भएको बताउँदै यसको गहिरो अर्थ समाधि भएको उल्लेख गर्नुभयो। महर्षि पतञ्जलिले योगश्चित्तवृत्तिनिरोधः भनेर योगलाई परिभाषित गरेको भन्दै उहाँले चित्तका वृत्तिहरूको निरोध नै योग भएको बताउनुभयो। श्रीमद्भागवत गीतामा कर्ममा कुशलता र समभाव राख्नुलाई योग भनिएको उहाँको भनाइ छ। दुःख–सुख र अनुकूल–प्रतिकूल अवस्थामा पनि मन सन्तुलनमा राख्न सक्नु नै योग भएको उहाँले स्पष्ट गर्नुभयो। योगले शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक आयामलाई जोड्ने भएकाले योग समग्र अभ्यास भएको उहाँको भनाइ छ।
योगलाई विज्ञानका रुपमा पनि हेर्न सकिने बताउँदै बराकोटीले योग विज्ञान मात्र नभई महाविज्ञान भएको उल्लेख गर्नुभयो। योगका अभ्यासहरू मापन र परीक्षण गर्न सकिने तथा आधुनिक विज्ञानले यसको सकारात्मक नतिजा प्रमाणित गरिसकेको उहाँले बताउनुभयो। आसन, प्राणायाम, ध्यानलगायत अभ्यासले शरीर र मन शुद्धीकरण तथा रोग निवारणमा प्रभावकारी भूमिका खेलेको उहाँको भनाइ छ।
योगका लाभ असंख्य रहेको उल्लेख गर्दै उहाँले योगबाट शारीरिक, मानसिक, आध्यात्मिक, सामाजिक र आर्थिक फाइदा लिन सकिने बताउनुभयो। योगले शरीर सन्तुलित, लचिलो र रोगमुक्त बनाउने, मनलाई आनन्दित र सकारात्मक बनाउने तथा तनाव, चिन्ता र मानसिक रोग नियन्त्रणमा सहयोग गर्ने उहाँको भनाइ छ।
योगले व्यक्तिको रुपान्तरण गर्दै परिवार र समाजमा सकारात्मक योगदान दिन सक्षम बनाउने उहाँले बताउनुभयो। अष्टाङ्ग योगअन्तर्गत यम र नियमको पालनाले सामाजिक सुव्यवस्था र नैतिकता प्रवर्द्धन हुने र चेतनाको स्तर उकासिने उहाँको भनाइ छ।
पछिल्लो समय योगलाई चिकित्साका रुपमा पनि प्रयोग गर्न थालिएको उल्लेख गर्दै बराकोटीले विदेशका अस्पतालहरूमा आधुनिक चिकित्सासँगै योग अपनाइएको जानकारी दिनुभयो। रोगको रोकथाम, उपचार र पुनःस्थापनामा योग प्रभावकारी देखिएको उहाँले बताउनुभयो।
अहिलेको व्यस्त जीवनशैलीमा योगको महत्व झनै बढेको भन्दै उहाँले योगले शरीर सक्रिय र मन स्थिर बनाउन सहयोग गर्ने बताउनुभयो। निष्क्रिय जीवनशैलीका कारण बढ्दै गएको नसर्ने रोग नियन्त्रणमा योग उपयोगी हुने उहाँको भनाइ छ।
योगलाई रोजगार, पर्यटन र विश्व शान्तिसँग जोड्न सकिने उल्लेख गर्दै उहाँले नेपालमा योग गुरु उत्पादन गरी अन्तर्राष्ट्रियस्तरमा सम्भावना सिर्जना गर्न सकिने बताउनुभयो। योग पर्यटनमार्फत विदेशी पर्यटक आकर्षित गर्न सकिने उहाँको धारणा छ।
योगले अहिंसा, सत्य, संयम र करुणाको अभ्यासमार्फत विश्व शान्तिमा योगदान पुर्याउने उहाँको भनाइ छ। मन शान्त भएपछि मात्र समाज, राष्ट्र र विश्व शान्ति सम्भव हुने उहाँले बताउनुभयो।
दैनिक जीवनमा योग अपनाउनका लागि दक्ष प्रशिक्षकबाट सिक्नुपर्ने, ब्रह्ममुहूर्तमा अभ्यास गर्नुपर्ने र आफ्नो अवस्था अनुसार योग अभ्यास छनोट गर्नुपर्ने उहाँको सुझाव छ। योग २४ सै घण्टा जीवनशैलीका रुपमा अपनाउनुपर्ने उहाँले बताउनुभयो।
नेपालमा औपचारिक योग शिक्षा विस्तार हुँदै गएको उल्लेख गर्दै बराकोटीले विद्यालयदेखि विश्वविद्यालय तहसम्म योग शिक्षा समावेश गरिएको जानकारी दिनुभयो।
अन्त्यमा राष्ट्रिय योग दिवसको अवसरमा सन्देश दिँदै उहाँले योगमार्फत स्वस्थ व्यक्ति, स्वस्थ समाज र शान्त विश्व निर्माण गर्न सबैलाई आग्रह गर्नुभयो। योग गरौँ, स्वस्थ बनौँ र समाजमा सकारात्मक भावना फैलाऔँ भन्ने उहाँको सन्देश छ।