काठमाडौं ।
अमेरिकाको ओरेगन राज्यको तटीय क्षेत्रमा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको तीव्रता ६.२ म्याग्निच्युड मापन गरिएको छ। हालसम्म यसबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो। नेसनल सुनामी वार्निङ सेन्टरले पनि हालसम्म सुनामीसम्बन्धी कुनै चेतावनी (अलर्ट) जारी गरेको छैन।
भूकम्पको धक्का महसुस गरिएको क्षेत्र ओरेगन र क्यालिफोर्नियाको सीमावर्ती इलाकामा पर्छ, जहाँ बारम्बार भूकम्प जाने गर्छ। यस क्षेत्रमा आउने अधिकांश भूकम्पहरू जमिनको धेरै गहिराइमा हुने भएकाले प्रायः सतहमा कम महसुस हुने गर्छन्।
यसअघि पनि गत वर्ष सेप्टेम्बरमा ओरेगनमा भूकम्पको धक्का महसुस गरिएको थियो। यो क्षेत्र ‘कास्केडिया सबडक्सन जोन’ अन्तर्गत पर्दछ, जुन उत्तरी भ्याङ्कुभर टापुदेखि उत्तरी क्यालिफोर्नियासम्म फैलिएको छ। यसलाई पृथ्वीका सबैभन्दा शक्तिशाली भूकम्पीय क्षेत्रहरूमध्ये एक मानिन्छ।
इतिहासअनुसार सन् १७०० मा यही क्षेत्रमा ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प गएको थियो, जसका कारण भीषण सुनामी आएको थियो। वैज्ञानिकहरूले भविष्यमा यस्तै शक्तिशाली भूकम्प र सुनामी आएमा तटीय क्षेत्रमा ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिँदै आएका छन्।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२ १६:०२
#अमेरिका