काठमाडौँ । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शुक्रबार बेइजिङमा व्यापार, पर्यटन तथा भिसा नियमसम्बन्धी एक ऐतिहासिक सम्झौता भएको छ। दुई देशबीच लामो समयदेखि देखिँदै आएको कूटनीतिक तनाव अन्त्य गर्दै सम्बन्ध सुधारतर्फ नयाँ अध्याय सुरु भएको विश्लेषण गरिएको छ।
प्रधानमन्त्री कार्नीले यस सम्झौतालाई चीनसँगको ‘नयाँ रणनीतिक साझेदारी’ का रूपमा व्याख्या गर्दै यसको प्रशंसा गरेका छन्। उनका अनुसार सम्झौताले विगतका वर्षहरूमा देखिएका कूटनीतिक विवाद, प्रतिशोधात्मक गिरफ्तारी तथा व्यापारिक अवरोधहरू अन्त्य गर्ने विश्वास पैदा गरेको छ।
विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली उत्पादनहरूमा आक्रामक रूपमा कर वृद्धि गरेपछि क्यानाडाले आफ्नो परम्परागत साझेदार अमेरिकामाथिको निर्भरता घटाउँदै चीनतर्फ कूटनीतिक र व्यापारिक पहल बढाएको देखिन्छ।
सम्झौताअनुसार क्यानाडाको प्रमुख निर्यात वस्तु क्यानोलामा चीनले लगाउँदै आएको ८४ प्रतिशत कर आगामी मार्च १ भित्र घटाएर १ देखि १५ प्रतिशतको दायरामा ल्याइनेछ। यसको बदलामा क्यानाडाले ६.१ प्रतिशतको सहुलियतपूर्ण करदरमा ४९ हजार चिनियाँ विद्युतीय सवारी साधन आयात गर्न सहमति जनाएको छ।
यससँगै चीनले क्यानाडाली नागरिकहरूलाई बिना भिसा प्रवेशको अनुमति दिने ऐतिहासिक घोषणा पनि गरेको छ। प्रधानमन्त्री कार्नीले यस सहमतिलाई हालै देखिएको व्यापारिक तनावभन्दा अघिको सम्बन्धमा फर्कने प्रयासका रूपमा वर्णन गरेका छन्।
ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री कार्नीलाई स्वागत गर्दै राष्ट्रपति सी चिनफिङले दुई देशबीचको सम्बन्ध सुधारको नयाँ अध्याय सुरु भएको बताएका छन्। सन् २०१८ मा हुवावे संस्थापककी छोरी पक्राउ परेपछि उत्पन्न विवाद र त्यसपछि चीनद्वारा दुई क्यानाडाली नागरिकलाई जासुसीको आरोपमा पक्राउ गरिएपछि चिसिएको सम्बन्धलाई यस भ्रमणले नयाँ मोड दिएको विश्लेषण गरिएको छ।
वासिङ्टनको कडा व्यापार नीतिका कारण क्यानाडाले सन् २०३५ सम्म गैर–अमेरिकी निर्यात दोब्बर बनाउने लक्ष्य लिएको छ। सो लक्ष्यमा चीन क्यानाडाको दोस्रो ठूलो र रणनीतिक रूपमा महत्त्वपूर्ण बजारका रूपमा देखिएको छ।