लन्डन।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी सहयोगलाई कमजोर पार्न ‘शक्तिशाली विश्व समुदाय’ लामबद्ध भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनस्थित मेथोडिस्ट सेन्ट्रल हलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गुटेरेसले यस्तो चेतावनी दिएका हुन्।
उनले सन् १९४६ जनवरी १० मा ५१ देशका प्रतिनिधिहरू लन्डनमा भेला भई पहिलो महासभा बैठक बसेको ऐतिहासिक प्रसङ्ग स्मरण गर्दै संयुक्त राष्ट्रसङ्घको निर्माणमा बेलायतले खेलेको निर्णायक भूमिकाको प्रशंसा गरे।
महासचिव गुटेरेसले सन् २०२५ अन्तर्राष्ट्रिय सहयोग र संयुक्त राष्ट्रसङ्घका मूल्यमान्यताका लागि चुनौतीपूर्ण वर्ष रहेको बताए।
“हामी देख्छौँ, शक्तिराष्ट्रहरू विश्वव्यापी सहयोगलाई कमजोर पार्न लाइनमा छन्,” उनले भने, “तर समस्याका बाबजुद पनि हामी अघि बढिरहेका छौँ।”
गुटेरेसले समुद्री जैविक विविधतासम्बन्धी नयाँ सन्धिलाई प्रगतिको उदाहरणका रूपमा उल्लेख गर्दै उक्त सन्धिले राष्ट्रिय सीमाभन्दा बाहिर रहेका दुई तिहाइ महासागरमा संरक्षण र दिगो प्रयोगका लागि पहिलो कानुनी ढाँचा तयार गरेको बताए।
उनले अन्तर्राष्ट्रिय सहयोगका शान्त उपलब्धिहरू — जस्तै युद्ध रोकिएका, भोकमरी अन्त्य भएका र महत्त्वपूर्ण सन्धिहरू — सधैँ समाचारको मुख्य विषय नबने पनि तिनीहरू वास्तविक र महत्त्वपूर्ण रहेको बताए।