काठमाडौँ ।
दक्षिण अफ्रिकाको विधायिकी राजधानी केपटाउनमा अमेरिकी सैन्य हस्तक्षेप र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो तथा उनकी पत्नी सिलिया फ्लोरेसको गिरफ्तारीका विरुद्धमा विशाल विरोध प्रदर्शन भएको छ।
गत जनवरी ३ मा संयुक्त राज्य अमेरिकाले वेनेजुएलामा सैन्य अपरेशन “Operation Absolute Resolve” अन्तर्गत मादुरो दम्पतीलाई पक्राउ गरेको पुष्टि गरेको छ, जसमा १५० भन्दा बढी अमेरिकी उडान र विशेष बलको प्रयोग गरिएको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले यस अपरेशनलाई सफल भएको घोषणा गरेका छन्।
विरोध प्रदर्शनमा सहभागीहरूले तत्काल दम्पतीलाई रिहा गर्न र अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै कडा आलोचना गरेका थिए। प्रदर्शनकारीले “अमेरिकी साम्राज्यवादको अन्त्य गर” र “भेनेजुएलाबाट अमेरिका बाहिर जाओ” जस्ता नाराहरू लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै कुटनीतिक समाधानको माग गरेका छन्।
उनीहरूले यो हस्तक्षेपले विश्वव्यापी अस्थिरता निम्त्याउने चिन्ता व्यक्त गर्दै आगामी फेब्रुअरी ६ मा ‘अमेरिकी साम्राज्यवाद विरुद्धको अन्तर्राष्ट्रिय कार्य दिवस’ सफल पार्न आह्वान समेत गरेका छन्।
यसअघि पनि अमेरिकी सैन्य अपरेशनलाई लिएर क्युबामा समेत ठूलो विरोध भएको छ, जहाँ सरकार समर्थक प्रदर्शनकारीहरूले अमेरिकाको कार्यलाई “नियो-उदारवादी आक्रमण” भनेका छन्।
अन्तर्राष्ट्रिय समुदायमा पनि यस घटनाप्रति मिश्रित प्रतिक्रिया आएको छ — केही देशहरूले अमेरिकी कारबाहीको निन्दा गरेका छन् भने अन्यले यसलाई समर्थन वा अन्योलपूर्ण रूपमा समेत हेरेका छन्।
भेनेजुएलामा राजनीतिक शक्ति संरचना अहिले पनि परिवर्तनशील अवस्थामा रहेको बताइएको छ, यसले देशभित्र विभाजन र अस्थिरता थप गहिरो बनाएको छ।