काठमाडौं।
नेकपा एमालेले गोर्खा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारमा मिलन गुरुङ ‘चक्रे मिलन’ लाई अघि सारेको छ ।
शनिबार बसेको एमालेको सचिवालय बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनले माघ ६ गते गोर्खा पुगेर उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
२०७९ को चुनावमै उम्मेदवार बनाउने तयारी गरिए पनि अन्तिम समयमा रोकिएका गुरुङलाई यसपटक टिकट दिइएको हो । त्यसबेला गोर्खा एमालेले गुरुङसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरेको थियो । तर, केन्द्रले सबैको नाम हटाएर अब्दुस सलाम मिया लाई उम्मेदवार बनाएको थियो । मिया पराजित भएपछि गोर्खा–२ बाट तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए ।
चक्रे मिलनको पृष्ठभूमि भने विवादास्पद छ । उनी विगत तीन दशकदेखि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका छन् । प्रहरी अभिलेखअनुसार उनी पहिलोपटक २०४६ साउन ६ गते पक्राउ परेका थिए । त्यसयता सार्वजनिक अपराध, ज्यान मार्ने उद्योग, अभद्र व्यवहार, लागुऔषध लगायतका मुद्दामा पटक–पटक पक्राउ परेका छन् ।
पछिल्लो पटक २०८२ साउनमा महाराजगञ्जस्थित होटल साम्बालामा होहल्ला गरेको आरोपमा उनीसहित १९ जना पक्राउ परेका थिए ।
गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएका व्यक्तिमध्ये गुरुङ एक्ला होइनन् । उनका समकालीन राजीव गुरुङ ‘दीपक मनाङे’ पनि राजनीतिमा सक्रिय थिए । तर, चक्रे मिलनमाथि खुकुरी प्रहार गरेको अभियोगमा दोषी ठहर भई हाल डिल्लीबजार कारागारमा रहेका मनाङे आगामी फागुनमा जेलमुक्त हुनेछन् । तर, फौजदारी कसुरमा दोषी ठहर भएकाले उनी ६ वर्षसम्म राजनीतिक लाभ लिन नपाउने छन् ।
यसपटक गोर्खा–२ बाट चुनाव जितेमा चक्रे मिलन संघीय संसद् पुग्नेछन्