काठमाडौं।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तर, तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सफा रहने अनुमान गरिएको छ । तराईका जिल्लामा दिउँसो पनि हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले जनजीवनमा सामान्य प्रभाव पर्न सक्ने जनाइएको छ ।
आज राति पनि तराईका केही स्थानमा हुस्सु लाग्ने क्रम जारी रहनेछ । उच्च पहाडी तथा हिमाली भेगमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ ।
यद्यपि, मौसमविद्हरूले केही दिनपछि नयाँ पश्चिमी वायु प्रणाली भित्रिने संकेत देखिएको बताएका छन् । मौसमविद् विनोद पोखरेल का अनुसार बिहीबारदेखि मौसममा परिवर्तन आउने सम्भावना छ ।
पोखरेलले भने,
“बिहीबारदेखि अर्को पश्चिमी वायुले चिसोसँगै वर्षा पनि ल्याउने राम्रो सम्भावना छ।”
नयाँ प्रणाली भित्रिएसँगै देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुन सक्ने र चिसो अझ बढ्ने अनुमान गरिएको छ । तसर्थ, आगामी साता चिसोबाट जोगिन र सतर्कता अपनाउन विभागले सुझाव दिएको छ ।