काठमाडौं ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालनमा ल्याइएको छ। जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गराउने कार्यक्रम रहेको छ।
कार्यालयका अनुसार काठमाडौं क्षेत्र नं. १ को निर्वाचन कार्यालय सहकारी प्रशिक्षण केन्द्र, नयाँ बानेश्वरमा निर्धारण गरिएको छ। क्षेत्र नं. २ का लागि कागेश्वरी मनोहरा नगरपालिकाको नगर भवनमा कार्यालय स्थापना गरिएको छ। क्षेत्र नं. ३ को निर्वाचन कार्यालय गोकर्णेश्वर नगरपालिकाको वडा नं. ४ मा रहेको छ भने क्षेत्र नं. ४ का लागि बूढानीलकण्ठ नगरपालिकाको ज्येष्ठ नागरिक समाज भवन, चपलीमा कार्यालय स्थापना गरिएको छ।
यस्तै, काठमाडौं क्षेत्र नं. ५ का लागि टोखा नगरपालिकाको श्री समाज भवन, क्षेत्र नं. ६ का लागि तारकेश्वर नगरपालिकाको भवन, धर्मस्थलीमा कार्यालय तोकिएको छ। क्षेत्र नं. ७ का लागि बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (जुडोहल), खुसीबु–बालाजुमा निर्वाचन कार्यालय स्थापना गरिएको छ।
त्यस्तै, क्षेत्र नं. ८ का लागि नागार्जुन नगरपालिकाको नगरपालिका भवन, क्षेत्र नं. ९ का लागि चन्द्रागिरि नगरपालिकाको भवनमा कार्यालय सञ्चालनमा ल्याइएको छ। क्षेत्र नं. १० का लागि कीर्तिपुर नगरपालिकाको वडा नं. २ स्थित बाघभैरव भवनमा निर्वाचन कार्यालय स्थापना गरिएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार ललितपुर र भक्तपुर जिल्लाका पनि पायक पर्ने स्थानहरूमा निर्वाचन कार्यालय स्थापना भई सञ्चालनमा आइसकेका छन्।