काठमाडौं ।
नेपाली कांग्रेसका पार्टी सभापति गगन थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धमाधम उम्मेदवार टुंग्याइरहेका छन्। विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापाले टिकट वितरणमा सबै पक्षलाई समेट्ने प्रयास गरिरहेका छन्।
सभापति बनेलगत्तै थापाले आफ्नै हस्ताक्षरमा उम्मेदवारलाई टिकट वितरण थालेका हुन्। यसअघि राष्ट्रियसभा र समानुपातिकतर्फका उम्मेदवार भने निवर्तमान सभापति शेरबहादुर देउवाले टुंग्याएका थिए। पार्टीका एक पदाधिकारीका अनुसार अधिकांश हिमाली तथा उच्च पहाडी जिल्लाका उम्मेदवार टुंगिसकेका छन् र बिहानसम्म करिब सबै तय हुने अपेक्षा गरिएको छ।
थापाले पूर्वसभापति देउवा र डा. शेखर कोइराला समूहलाई समेत मिलाएर सन्तुलन कायम गर्दै टिकट वितरण गरिरहेको उनीनिकट स्रोतले जनाएको छ।
कांग्रेस अछामले उम्मेदवार टुंग्याएको छ। अछाम–१ मा पूर्व जिल्ला सभापति भरतकुमार स्वाँर र अछाम–२ मा जिल्ला सभापति पुष्पबहादुर शाह उम्मेदवार बनेका छन्। स्वाँर विशेष महाधिवेशन पक्षधर हुन् भने शाह देउवा पक्षधर मानिन्छन्। दुवै पक्षलाई समेटेर टिकट दिइएपछि अछाममा पार्टी विभाजनको सम्भावना टरेको बताइएको छ।
अन्य जिल्लाहरूमा पनि कांग्रेसले उम्मेदवार चयन गरिसकेको छ। इलाम–१ मा निश्कल राई, गुल्मी–१ मा चन्द्र भण्डारी, काठमाडौं–३ मा नेविसंघ सभापति दुजाङ शेर्पा, रसुवामा मोहन आचार्य उम्मेदवार बनेका छन्।
मोरङ–३ बाट सुनील शर्मा उम्मेदवार बनेका छन् भने रोल्पाबाट अर्थविद् डा. सुदनकुमार वली उम्मेदवार चयन भएका छन्। बाजुरामा जनक गिरी, रुकुमपूर्वमा निवर्तमान सांसद कुसुम थापा मगरलाई टिकट दिइएको छ।
हुम्लामा जयपति रोकाया, मुगुमा खड्गबहादुर शाही, डोल्पामा कर्णबहादुर बुढा, कालीकोटमा हर्ष बम, जुम्लामा दीपबहादुर शाही उम्मेदवार बनेका छन्। दैलेख–१ मा दिक्पाल शाही र दैलेख–२ मा बासना थापा, सल्यानमा केशबहादुर विष्ट तथा प्युठानमा डा. गोविन्दराज पोखरेल उम्मेदवार बनेका छन्।
ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ, तेह्रथुममा सन्तोष सुब्बा र धनकुटामा दिनेश राईलाई टिकट दिइएको छ। दार्चुलाबाट धर्मानन्द जोशी उम्मेदवार चयन भएका छन्। जोशी संयुक्त राष्ट्रसंघअन्तर्गतका निकायमा काम गरेको अनुभव बोकेका व्यक्ति हुन्।
डोटीबाट भरतबहादुर खड्का उम्मेदवार बनेका छन्। कैलालीका पाँचवटै क्षेत्रमा उम्मेदवार टुंगिएका छन्। कैलाली–१ मा जनकराज चौधरी, २ मा विजय स्वाँर, ३ मा भीम बडुवाल, ४ मा वीरबहादुर बलायर र ५ मा नरनारायण शाह मनुले टिकट पाएका छन्।
गोरखा–१ मा प्रेमकुमार खत्री र गोरखा–२ मा प्रकाशचन्द्र दवाडी उम्मेदवार चयन भएका छन्। ओखलढुंगामा रामहरि खतिवडालाई पुनः उम्मेदवार बनाइएको छ।
दाङ–१ मा सहमहामन्त्री योगेन्द्र चौधरी र दाङ–२ मा किरणकिशोर घिमिरे उम्मेदवार बनेका छन्।
यसैबीच, कांग्रेसले देउवा पक्षले दायर गरेको रिट निवेदन फिर्ता गराउने प्रयास गरिरहेको बताइए पनि नेता पूर्णबहादुर खड्काले आफू टिकट वितरण तथा बैठक प्रक्रियामा सहभागी नभएको भन्दै त्यसको सम्भावना नरहेको प्रतिक्रिया दिएका छन्।