काठमाडौं।
तत्कालीन माओवादी परित्याग गरी नयाँ पार्टी निर्माणको प्रक्रियामा लागेका नेताहरू चुनावी राजनीतिबाट पछि हट्न थालेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने प्रारम्भिक घोषणा गरेका नेतृत्व तहका व्यक्तिहरू अन्तिम समयमा उम्मेदवारी नदिने निर्णयमा पुगेका हुन्।
०६८ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) विभाजन गरी नयाँ पार्टी गठन गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले निर्वाचनमा सहभागी हुने निर्णय गरे पनि विप्लवसहित पार्टीका शीर्ष नेताहरूले उम्मेदवारी नदिने घोषणा गरेका छन्।
चुनावी प्रक्रिया सुरु भएसँगै सो पार्टीले समानुपातिकतर्फ नाम पेस गर्ने र शीर्ष नेता खड्कबहादुर विश्वकर्मा, अनिल बिरहीलगायतले उम्मेदवारी दिने तयारीसमेत गरेका थिए। विप्लवले रोल्पा र खड्कबहादुर विश्वकर्माले कालिकोटबाट उम्मेदवारी दिने चर्चा चलेको थियो। तर विकसित राजनीतिक परिस्थितिका कारण उनीहरू चुनावी प्रतिस्पर्धाबाट पछि हटेको अनुमान गरिएको छ। यसले ती क्षेत्रमा नेकपालाई सहज हुने देखिएको छ।
त्यस्तै, तत्कालीन माओवादी केन्द्रबाट बाहिरिएर डा. बाबुराम भट्टराईसँग सहकार्य गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी निर्माण गरेका जनार्दन शर्मालगायतका शीर्ष नेताहरूले पनि उम्मेदवारी नदिने घोषणा गरेका छन्। रुकुम–पश्चिमबाट उम्मेदवार बन्ने चर्चा भएका शर्मा उम्मेदवार नहुने स्पष्ट पारेका छन्।
सोही पार्टीका अर्का नेता सुदन किराँतीले भने हर्क साम्पाङ नेतृत्वको पार्टीलाई सहयोग गर्ने घोषणा गरेका छन्।
तर पार्टी निर्माण प्रक्रियामा सहभागी भई उम्मेदवारी नदिने घोषणा गरेका डा. बाबुराम भट्टराईले भने अन्तिम समयमा सोमबार गोरखा–२ बाट उम्मेदवारी दिने निर्णय सार्वजनिक गरेका छन्। भट्टराईले गोरखा–२ का पार्टी कार्यकर्ता, मतदाता तथा देशको अन्योलपूर्ण राजनीतिक अवस्थाबाट उत्पन्न राष्ट्रिय दायित्वबोधलाई ध्यानमा राख्दै प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावचिन्ह ‘खुलेको आँखा’ लिएर उम्मेदवारी दिने बताएका छन्।
गोरखा–२ मा भट्टराईको मुख्य प्रतिस्पर्धा नेपाली कम्युनिष्ट पार्टीका प्रभावशाली युवा नेता लेखनाथ न्यौपानेसँग हुने देखिएको छ। उक्त क्षेत्रमा एमालेले मिलन गुरुङ ‘चक्रे’लाई उम्मेदवार बनाएको छ।