ओखलढुंगा।
नेकपा (एमाले) ओखलढुंगामा लामो समयदेखि देखिँदै आएको असन्तुष्टि खुला विद्रोहको रूप लिन थालेको छ। पार्टीका प्रभावशाली नेता अमीर गुरुङले एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेसँगै जिल्लाको राजनीतिक वातावरण थप तरंगित बनेको छ।
गुरुङको पार्टी परिवर्तनलाई व्यक्तिगत निर्णयभन्दा पनि एमालेभित्र बढ्दो संगठनात्मक संकटको संकेतका रूपमा हेरिएको छ। भरपर्दो स्रोतका अनुसार, बढ्दो असन्तुष्टिका कारण केही दिनभित्रै हजारौँ नेताकार्यकर्ताले सामूहिक राजीनामा दिने तयारी तीव्र बनाएका छन्।
पार्टीभित्र चरम गुटबन्दी, व्यक्तिवादी नेतृत्व शैली र निरन्तर भइरहेका अलोकतान्त्रिक निर्णयका कारण नेताकार्यकर्ताहरू पार्टी छोड्न बाध्य भएको बताएका छन्। उनीहरूको आरोप अनुसार योगदान, त्याग र निष्ठालाई बेवास्ता गर्दै सीमित व्यक्तिको स्वार्थअनुसार निर्णय थोपिने प्रवृत्ति ओखलढुंगामा सामान्य बन्दै गएको छ।
वर्षौँदेखि संगठन निर्माणमा खटिएका इमानदार कार्यकर्ताहरूलाई पाखा लगाएर पहुँच र गुटका आधारमा जिम्मेवारी बाँड्दा पार्टीभित्र गहिरो निराशा फैलिएको स्थानीय नेताहरूले बताए। “एमाले अब सामूहिक नेतृत्वको पार्टी रहेन, केही व्यक्तिको निजी क्लबजस्तो बनेको छ,” एक असन्तुष्ट नेताले प्रतिक्रिया दिए।
राजनीतिक विश्लेषकका अनुसार आन्तरिक लोकतन्त्रको ह्रास, आलोचनालाई दबाउने प्रवृत्ति र असमान निर्णयका कारण एमालेको जनआधार कमजोर हुँदै गएको छ। नेतृत्वले समयमै आत्मसमीक्षा नगरे, ओखलढुंगाबाट सुरु भएको असन्तुष्टि जिल्ला सीमित नरही राष्ट्रिय तहसम्म फैलिन सक्ने संकेत देखिएको छ।
ओखलढुंगामा एमाले अहिले इतिहासकै गम्भीर संगठनात्मक संकटको सामना गरिरहेको छ। अमीर गुरुङको नेकपामा प्रवेश यस संकटको स्पष्ट राजनीतिक सन्देशका रूपमा लिइएको छ।