काठमाडौँ ।
नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको निर्वाचन प्रक्रिया फेरि अन्योलमा परेको छ। निर्वाचन समितिले उम्मेदवारहरूको नयाँ नामावली सार्वजनिक गरे पनि प्रतिनिधिसभा निर्वाचनको आचारसंहिता र जारी अदालती प्रक्रियाका कारण मतदानको मिति अझै टुङ्गो लाग्न सकेको छैन।
गत सोमबार चिकित्सक र उम्मेदवारहरूबीच भएको सर्वपक्षीय छलफलमा उपत्यका बाहिर माघ १५ र १६ गते तथा काठमाडौँ उपत्यकामा माघ २९ गतेदेखि तीन दिनसम्म मतदान गर्ने सहमति नजिक पुगेको थियो। तर सोही दिनदेखि लागू भएको प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताले निर्वाचन प्रक्रिया अघि बढाउन कठिनाइ उत्पन्न गरेको निर्वाचन समितिले जनाएको छ।
मुख्य निर्वाचन समिति संयोजक डा. प्रणयरत्न शाक्यका अनुसार अहिलेको मुख्य बाधा निर्वाचन आचारसंहिता नै बनेको छ। “अदालती मुद्दाका कारण पहिले तोकिएको मितिमा निर्वाचन गर्न सकेनौँ,” उनले भने, “अहिले देशभर निर्वाचन आचारसंहिता लागू भइसकेकाले यस्तो अवस्थामा चिकित्सक संघको निर्वाचन अघि बढाउन मिल्छ कि मिल्दैन भन्ने विषयमा मंगलबार निर्वाचन आयोगमा पत्राचार गरेका छौँ।” आयोगको राय आएपछि मात्रै नयाँ मिति तय गरिने उनले स्पष्ट पारे।
अदालती प्रक्रिया पनि अझै टुङ्गिन बाँकी रहेकाले निर्वाचनको बाटो पूर्ण रूपमा खुल्न नसकेको अवस्था छ। निर्वाचनसँग सम्बन्धित मुद्दामा उच्च अदालत पाटनको फैसला पनि निर्णायक हुने देखिएको छ। मंगलबारका लागि तोकिएको पेशी स्थगित भएपछि अदालती झन्झट अझै केही समय लम्बिने संकेत देखिएको छ। यद्यपि, डा. शाक्यले अदालतको अघिल्लो निर्देशनअनुसार रोकिएका सबै उम्मेदवारको नामावली कायम गरिसकिएकाले अब कानुनी रूपमा ठुलो समस्या नरहने दाबी गरेका छन्।
निर्वाचनको मिति पटक–पटक सर्दा उम्मेदवारहरूमा असन्तुष्टि र चिन्ता बढ्दै गएको छ। ‘टिम बद्री’ का नेतृत्वकर्ता डा. बद्री रिजालले राष्ट्रिय निर्वाचनले सबैको ध्यान तानेको बेला संघको निर्वाचनको भविष्य अनिश्चित बन्दै जानु चिन्ताको विषय भएको बताए। उनले प्रतिनिधिसभा निर्वाचनअघि नै चिकित्सक संघको निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिए।
त्यसैगरी ‘टिम मंगल’ का नेतृत्वकर्ता डा. मंगल रावलले निर्वाचनको अन्योल हटाउन आफूहरू निर्वाचन आयोगसँग प्रत्यक्ष छलफल गर्ने तयारीमा रहेको जानकारी दिए। “हामी पनि आयोगमा गएर चुनावी वातावरण बनाउन पहल गर्छौँ,” उनले भने।
निर्वाचन ढिलाइको सुरुआत निर्वाचन समितिले केही चिकित्सकको उम्मेदवारी खारेज गरेपछि भएको विवादबाट भएको बताइन्छ। जिल्ला प्रशासन कार्यालय र उच्च अदालतका आदेशलाई समेत समितिले सुरुमा अटेरी गरेको आरोप सरोकारवाला चिकित्सकहरूले लगाउँदै आएका छन्।
१७ हजारभन्दा बढी चिकित्सक मतदाता रहेको संघमा हाल डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुसाल समूहबीच चुनावी प्रतिस्पर्धा छ। निर्वाचन आयोगको राय र अदालतको आगामी पेशीले नै अब चिकित्सक संघको निर्वाचनको भविष्य तय गर्ने देखिएको छ।