काठमाडौँ।
नेपाली कांग्रेसका नेता शंकर तिवारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस संसदको पहिलो शक्ति बन्ने दाबी गर्दै पार्टी पंक्तिलाई एकताबद्ध भएर चुनावी अभियानमा जुट्न अपिल गरेका छन्।
माघ ६ गते देशभर शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा उम्मेदवारहरूको मनोनयन सम्पन्न भएको सन्दर्भमा तिवारीले भदौ २३ र २४ को ‘जेन्जी आन्दोलन’ पछि हुन लागेको यो निर्वाचनलाई देश र कांग्रेस परिवर्तनको ऐतिहासिक अवसरका रूपमा वर्णन गरे। उनले यसपटक आफ्नो व्यक्तिगत उम्मेदवारीभन्दा पनि कांग्रेस र देशको दीर्घकालीन रूपान्तरणको लक्ष्य महत्वपूर्ण रहेको स्पष्ट पारे।
पुस २७ देखि माघ ६ सम्मको समयलाई नेपाली राजनीतिक इतिहासको निर्णायक क्षणका रूपमा स्मरण गर्दै तिवारीले विशेष अधिवेशनपछि कांग्रेसमा नयाँ ऊर्जा, जोश र संकल्प पैदा भएको बताए। विशेष अधिवेशनमार्फत नेतृत्व परिवर्तन हुनु सामान्य घटना नभएको उल्लेख गर्दै उनले सभापति गगन थापाको नेतृत्वमा कांग्रेस नयाँ उत्साहका साथ आम निर्वाचनमा होमिएको दाबी गरे।
टिकट वितरणका क्रममा देखिएका विवाद र असन्तुष्टिलाई थाती राखेर पार्टी एकतामा जोड दिन आग्रह गर्दै तिवारीले ७२ घण्टाभित्र १६५ वटै निर्वाचन क्षेत्रमा सन्तुलन मिलाएर उम्मेदवार टुङ्ग्याउनु नयाँ नेतृत्वको असामान्य उपलब्धि भएको बताए। गणतन्त्र स्थापनापछि पहिलो पटक सबै १६५ निर्वाचन क्षेत्रमा कांग्रेस आफ्नै चुनाव चिह्न ‘रुख’ लिएर मैदानमा उत्रनु समानुपातिकतर्फको मत परिणाममा उल्लेख्य सुधार ल्याउने उनको विश्वास छ।
नेता तिवारीले प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सिटमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ गाउँगाउँमा पुग्न आह्वान गरे। ‘जेन्जी आन्दोलन’ पछि कांग्रेसले लिएको परिवर्तनको संकल्प अझ सशक्त बनेको उल्लेख गर्दै उनले फागुन २१ को निर्वाचन परिणामले नेपाली कांग्रेसलाई पुनः देशको मूल शक्तिका रूपमा स्थापित गर्ने जिकिर गरे।
आन्तरिक लोकतन्त्र र नयाँ नेतृत्वको कार्यशैलीका कारण यसपटक कांग्रेस संसदमा पूर्ण बहुमत नजिक पुग्ने दाबी गर्दै उनले पार्टी पंक्तिलाई निर्धक्क भएर अघि बढ्न आग्रह गरेका छन्।