काठमाडौँ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार र उनका कार्यकर्ताहरू मत माग्न मतदाताको घरघरमा पुग्ने परम्परा रहँदै आएको छ। मतदाताले ‘हस्’ भनेरै पठाउँछन्, तर त्यो ‘हस्’ ले मत दिन्छु भनेको हो कि होइन भन्ने कुरा उम्मेदवारले थाहा पाउँदैनन्। पछिल्लो समय भने उम्मेदवार पुग्नुअघि नै मिडिया र सामाजिक सञ्जाल मतदातासम्म पुग्न थालेका छन्। सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार र बुस्टिङ गरेर उम्मेदवार वा पार्टीहरूले आफ्ना सन्देश फैलाउने गरेका छन्।
थोरै मात्रामा भए पनि सामाजिक सञ्जालको डाटा प्रयोग गरेर चुनावी रणनीति बनाउने र मूल्याङ्कन गर्ने अभ्यास सुरु भइसकेको छ। यसको उल्लेखनीय उदाहरण काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह हुन्। उनी नागरिकसँग प्रत्यक्ष भेट्न नपाए पनि सामाजिक सञ्जालमार्फत देशभरका मतदाताको मनमा स्थान बनाउन सफल भएका थिए। यो सामाजिक सञ्जालको प्रभावको एउटा उदाहरण हो।
आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। यस निर्वाचनमा सामाजिक सञ्जाल मात्र नभई एआईसमेत समेटिएको ‘अल्ट्रा टेक्नोलोजी’ प्रयोगमा आउने देखिएको छ, जसले उम्मेदवारभन्दा अगाडि नै उम्मेदवारको सन्देश मतदातासम्म पुर्याउने लक्ष्य राखेको छ। मनोनयन दर्तासँगै कतिपय उम्मेदवारहरूले यो उच्चस्तरीय प्रविधि प्रयोग गरेर निर्वाचन अभियान सुरु गरिसकेको पाइएको छ।
अन्तर्राष्ट्रिय अभ्यासमा आधारित यो डिजिटल प्रविधि नेपालमा नयाँ रूपमा भित्रिएको हो, जसलाई ‘अल्ट्रा टेक्नोलोजी’ नाम दिइएको छ। यसमा एआईको व्यापक प्रयोग हुन्छ। यस प्रविधिले नेगेटिभ मतदातालाई पनि पोजेटिभ बनाउन लक्षित गरी निरन्तर ट्र्याक गर्ने, कुन क्षेत्र कमजोर छ, कुन समूहसम्म अभियान पुगेको छैन भन्ने विवरण सिस्टममै देखाउने गर्छ। डिजिटल माध्यमबाट प्रभाव पर्न नसके सफ्टवेयरले नै ‘फिजिकल क्याम्पेन’ गर्न सुझाव दिने बताइन्छ।
यो प्रविधिमा कन्टेन्ट, सामाजिक सञ्जालको डाटा, एलगोरिदम र एआईको संयोजन छ। पुराना मतदान तथ्याङ्क, सोसल मिडिया, एआई र एपको माध्यमबाट यसले काम गर्छ। यसले बुस्टिङभन्दा पनि प्रभावकारी ढंगले प्रचार–प्रसार गर्न सहयोग गर्ने दाबी गरिएको छ। माइक्रो लेभलमा डाटा तानेर बहुआयामिक विश्लेषण गर्ने, त्यसलाई ग्राफ, ग्राफिक्स र तथ्याङ्कमार्फत प्रस्तुत गर्ने सुविधा पनि यसमा रहेको छ। सिस्टमले तयार पारेका विवरणहरू इमेल र ह्वाट्सएपमार्फत स्वचालित रूपमा पठाइने गरिएको छ।
यस प्रणालीले राम्रो पक्ष, सुधार गर्नुपर्ने क्षेत्र, सम्भावना र चुनौती (SWOT) विश्लेषणसमेत गरेर सुझावसहित प्रस्तुत गर्ने गर्छ। विज्ञहरूका अनुसार यति सूक्ष्म तहमा काम गर्ने प्रविधि अहिलेसम्म नेपालमा प्रयोगमा आएको थिएन।
यो प्रविधि कसले विकास गर्यो भन्ने विषयमा आधिकारिक रूपमा खुल्न सकेको छैन। यद्यपि स्रोतका अनुसार आइटी विज्ञ ज्ञानेन्द्रराज भट्टले यसको विकास गरेका हुन्। यसबारे सम्पर्क गर्दा उनले आफूले निर्वाचनसम्बन्धी सिस्टम बनाएको स्वीकार गरे पनि ‘अल्ट्रा टेक्नोलोजी’ नै आफूले बनाएको भन्ने कुरा अस्वीकार गरे। भट्ट नेपाल सरकारका पूर्व आइटी विज्ञसमेत हुन्। उनी आइटी क्षेत्रमा दशवटा विधामा अन्तर्राष्ट्रिय रूपमा सर्टिफाइड इन्जिनियर हुन् र हाल सिस्टम बुल आइसीटी कलेजका चेयरमेन तथा गुना टेक्नोलोजीका सञ्चालकका रूपमा कार्यरत छन्।