दमक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले अरूभन्दा फरक शैलीमा चुनावी अभियान सञ्चालन गरेका छन्।
अन्य उम्मेदवार मतदाताका घरघर धाइरहेका बेला बालेन भने आफ्नै डेरामा ‘घरदैलो’ गरिरहेका छन्। बुधबार दमक–५ स्थित लक्की सिटौलाको घरमा खोलिएको उनको सम्पर्क कार्यालय परिसरमा उनलाई हेर्न, भेट्न र फोटो खिच्न चाहनेहरूको निकै भिड देखिएको थियो।
मत माग्न नेताहरू मतदाताका दैलोमा पुग्ने चलनको ठीक उल्टो दृश्य देखिएपछि दमकमा ‘बालेन शैली’ को चर्चा सुरु भएको छ। मंगलबार उम्मेदवारी दर्ता गरेका बालेनले सोही दिनदेखि आफ्नै डेरालाई सम्पर्क कार्यालय बनाएर बसेका छन्। बुधबार दिनभर उनी त्यहीँ शुभचिन्तकहरूसँग भेटघाट तथा संवादमा व्यस्त रहे।
बालेनको सचिवालयले भने बुधबार बिहान ‘घरदैलो’ शीर्षकमा केही तस्बिर सार्वजनिक गरेको थियो। त्यसपछि दिनभर बालेन आफ्नै डेरामा आएका समर्थक तथा शुभचिन्तकसँग भेटघाट गर्दै बसेका थिए। सुरक्षा स्रोतका अनुसार बुधबार बिहानदेखि साँझसम्म झन्डै तीन हजार जना उनलाई भेट्न पुगेका थिए।
बालेनकहाँ गएकाहरू उनको कुरा सुन्नभन्दा पनि आफ्नै कुरा राखेर फर्किएको देखिन्थ्यो। भेटघाटका क्रममा बालेनले आफ्ना चुनावी एजेन्डा र गतिविधिबारे खासै कुरा राखेनन्।
‘बालेनजीले अरूका कुरा मात्रै सुन्नुभयो, आफ्ना कुरा धेरै राख्नु भएन,’ बालेनलाई भेटेर फर्किएका एक शुभेच्छुकले नेपालखबरसँग भने, ‘हामीले राखेका कुरा उहाँले ध्यानपूर्वक सुन्नुभयो।’
बालेनलाई भेट्न रास्वपाका झापा, मोरङ र सुनसरीका उम्मेदवार मात्र नभई अन्य दलका कार्यकर्ता पनि पुगेको सचिवालय स्रोतले जनाएको छ। सोही क्रममा नेकपा एमालेको युवा संघ दमक नगर कमिटीका केही पदाधिकारी रास्वपामा प्रवेश गरेका छन्।
बुधबार दिनभर दमकस्थित डेरामा भेटघाटमा व्यस्त बालेन बिहीबार बिहान इलाम पुगेका छन्। ताप्लेजुङस्थित पाथीभरा माताको दर्शन गर्ने उद्देश्यले पूर्वी पहाडी जिल्ला तर्फ निस्किएका बालेन इलाममा छलफलपछि मध्याह्न १२ बजे फिदिममा कार्यकर्तासँग भेट्ने कार्यक्रम रहेको रास्वपा पाँचथरका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए।
‘हामीलाई बिहान ९ बजे इलामबाट हिँड्ने जानकारी आएको छ, यहाँ १२ बजेतिर स्वागत तथा भेटघाटको समय मिलाउने गरी तयारी गर्दैछौँ,’ गुरुङले भने।
रास्वपाका अनुसार बालेन आजै ताप्लेजुङ पुगेर बस्ने कार्यक्रम रहेको छ।