काठमाडौं । देशका केही स्थानमा भोलिदेखि वर्षाको सम्भावना देखिएको छ। पश्चिमी वायुको प्रभावका कारण वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार भोलि दिउँसो सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।
“भोलि दिउँसोबाट सुदूरपश्चिमबाट वर्षा भित्रिन्छ,” मौसमविद् डेबिड ढकालले भने, “यो प्रणाली सुदूरपश्चिम हुँदै गण्डकीसम्म आइपुग्नेछ।”
तर यो प्रणालीले काठमाडौंमा उल्लेख्य वर्षा गराउने सम्भावना भने निकै कम रहेको उनले बताए। “काठमाडौंमा यसको प्रभाव देखिए पनि छिटपुट वर्षा मात्रै हुन सक्छ, तर त्यो सम्भावना पनि न्यून छ,” ढकालले भने।
भोलि राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा वाग्मती प्रदेशका एक–दुई स्थानमा मध्यम हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ।
मौसमविद् ढकालका अनुसार यो प्रणालीको असर शुक्रबार र शनिबारसम्म मात्रै रहनेछ। “शनिबारपछि यो प्रणाली कमजोर हुनेछ,” उनले भने, “केही दिनपछि पुनः अर्को प्रणाली विकास हुनेछ, अर्को हप्ताको मध्यतिर नयाँ प्रणाली सक्रिय हुने संकेत छ, त्यसको प्रभाव कस्तो पर्छ भन्ने अध्ययन भइरहेको छ।”
वर्षासँगै चिसो पनि बढ्ने अनुमान गरिएको छ। “चिसो फेरि बढ्ने देखिन्छ, तर यसअघिको न्यूनतम तापक्रमभन्दा कम पुग्छ कि पुग्दैन भन्ने कुरा केही दिनमै स्पष्ट हुनेछ,” ढकालले बताए।
यसैबीच, आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ। कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ।
राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ। कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।