भैरबी।
दैलेखको भैरबी गाउँपालिकामा “कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदा: संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता” भन्ने मूल नाराका साथ भैरबी कृषि जैविक विविधता तथा कृषि उपज प्रदर्शनी मेला २०८२ भव्य रूपमा सम्पन्न भएको छ।
भैरबी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा सम्पन्न मेलामा स्थानीय किसानहरूले आफ्ना रैथाने तथा मौलिक कृषि उपजहरू प्रदर्शनीमा राखेका थिए।
कार्यक्रममा बोल्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष देवी भण्डारीले स्थानीय रैथाने बालीको संरक्षण र प्रवर्द्धनबाट मात्रै गाउँपालिकालाई समृद्ध बनाउन सकिने बताउनुभयो। उहाँले कृषिमा युवाहरूको सहभागिता बढाउन विशेष योजना ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले कृषि उपजको बजारीकरण र व्यावसायिकतामा जोड दिँदै यस्ता प्रदर्शनीले किसानको मनोबल उच्च बनाउने बताउनुभयो। सोसेक नेपालका महासचिव ललिता भण्डारीले कृषि जैविक विविधता संरक्षणमा सामाजिक संस्थाको भूमिका र युवाको सक्रिय सहभागिता महत्त्वपूर्ण हुने धारणा राख्नुभयो। कृषि शाखा अधिकृत प्रितम थापाले मेलाको उद्देश्य र आधुनिक कृषि प्रविधिको आवश्यकताबारे प्रकाश पार्नुभएको थियो।
भैरबी गाउँपालिकाको कार्यालय परिसरमा सञ्चालन भएको मेलामा सोसेक नेपाल, हातेमालो सामुदायिक विकास संस्था तथा पर्यावरणीय कृषिका लागि पालिका स्तरीय युवा सञ्जाल भैरबीको सहकार्य रहेको थियो।
मेलामा व्यक्तिगत कृषक, कृषि समूह तथा सहकारी संस्था, स्थानीय कृषि उद्यमी र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। उत्कृष्ट कृषि उपजहरूलाई पुरस्कृतसमेत गरिएको आयोजकले जनाएको छ।
स्थानीयस्तरमा लोप हुन लागेका बीउबिजन र कृषि जैविक विविधताको संरक्षणमा मेलाले नयाँ ऊर्जा थपेको सहभागीहरूले बताएका छन्।