दाङ।
चुरे क्षेत्रको बीचमा पर्ने दाङको तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’ उपत्यकामा मानव सभ्यताको प्राचीन इतिहास खोज्न थालिएको छ। यसअघि विदेशी अनुसन्धानकर्ताले अध्ययन गरिसकेको र विश्वमै चर्चामा रहेको यस क्षेत्रलाई ऐतिहासिक तथा पर्यटकीय दृष्टिले अघि बढाउने उद्देश्यले थप अनुसन्धान सुरु गरिएको हो।
धेरै वर्षअघि मानिसले चुरे क्षेत्रलाई बासस्थान बनाएको मान्यताका आधारमा यस क्षेत्रमा मानव इतिहास खोजी गरिएको हो। सोही क्रममा तुलसीपुर उपमहानगरपालिकाले तुई उपत्यकामा सांस्कृतिक तथा पुरातात्विक प्रारम्भिक सर्वेक्षण गरेको छ। सर्वेक्षणका क्रममा ढुङ्गाका उपकरण र माटाका भाँडाका टुक्रा फेला परेका छन्।
अनुसन्धानकर्ता प्रा.डा. डिल्लीराज शर्मा र अशोक थारुको टोलीले जुम्लिकोट, खुनखुने, नौखाने तालको डाँडो, गिधनिया लगायतका स्थानबाट ती सामग्री फेला पारेको जनाएको छ। डा. शर्माका अनुसार प्रस्तरका टुक्रा र माटाका भाँडाका अवशेषका आधारमा यो क्षेत्र ढुङ्गे युगका मानिसको बासस्थान रहेको अनुमान गर्न सकिन्छ। गिधनिया, मझकटुवा, रनीयापुर, झाँक्री ढुङ्गा, जन्ती ढुङ्गा, सीता डेहरी, जुम्लिकोट, विगुले ढुङ्गा र राजाकोट क्षेत्रमा पनि अनुसन्धान गरिएको थियो।
पूर्वी रनियापुरको देवली पुज्ने डाँडोमा शत्रुलाई प्रहार गर्न सक्ने धारिलो औजार, साना चेप्टा आकारका उपकरण तथा माटाका भाँडाका टुक्रा भेटिएका छन्। तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा तयार गरिएको प्रतिवेदन एक हप्ताको स्थलगत अध्ययनपछि सार्वजनिक गरिएको हो। डा. शर्माका अनुसार अतिक्रमण र प्राकृतिक प्रकोपका कारण प्राग्ऐतिहासिक सामग्री क्रमशः लोप हुँदै गइरहेका छन्।
यसअघि सन् १९७८ मा रोबर्ट एम. वेस्ट, १९८२ देखि १९९२ सम्म गुडरन कर्भिनस र १९९२ देखि १९९५ सम्म रेण्डी हलेण्डले यस क्षेत्रको अध्ययन गरेका थिए। ती अध्ययनका क्रममा पालिसदार प्रस्तर औजार, माटाका भाँडाकुँडा, नवपाषाणकालीन र मध्यपाषाणकालीन उपकरण फेला परेको उल्लेख छ। गिधनियाबाट भेटिएका केही प्राग्ऐतिहासिक सामग्री हाल राष्ट्रिय संग्रहालयमा सुरक्षित छन्।
अनुसन्धानकर्ता अशोक थारुले तुई उपत्यकाजस्ता ऐतिहासिक स्थलको प्रचारप्रसार नहुनु दुःखद् भएको बताए। उनका अनुसार अतिक्रमण र मानव बस्ती विस्तारले इतिहास नै मेटिने खतरा रहेको भन्दै संरक्षणमा सरकार र सरोकारवालाको ध्यान जानुपर्ने बताए। यस्ता स्थललाई पाठ्यक्रममा समावेश गर्नुपर्ने उनको सुझाव छ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले यसअघि भएका अध्ययनलाई आधार मानेर थप अनुसन्धान गरी तुई उपत्यकालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने बताए। ऐतिहासिक सामग्री भेटिएका स्थानको पहिचान र संरक्षणका लागि यो अध्ययन गरिएको उनको भनाइ छ। तुई उपत्यकाको सभ्यता र इतिहास जोगाउन सके दाङको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुग्ने नगरप्रमुख खड्काले बताए।