काठमाडौं — नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर आगामी प्रतिनिधिसभा निर्वाचनमा जाने निर्णय गर्ने भएको छ। शुक्रबार पार्टी मुख्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकको प्रमुख एजेन्डा यही रहेको प्रवक्ता देवराज चालिसेले बताए।
एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेपछि कांग्रेसले पनि थापालाई औपचारिक रूपमा उम्मेदवार बनाउने तयारी गरेको हो। तत्कालीन सभापति शेरबहादुर देउवाको कार्यकालमा समेत थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुपर्ने आवाज उठे पनि निर्णय हुन सकेको थिएन।
विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि उनलाई भावी प्रधानमन्त्री घोषणा गरेर कांग्रेस निर्वाचनमा होमिन लागेको हो। थापाले उम्मेदवारी दिएको सर्लाही–४ मा ‘अबके बाद, गगन सरकार’ नारासहित प्रचार अभियानसमेत सुरु भइसकेको छ। टिकट वितरणमा ढिलाइका कारण वारेसमार्फत उम्मेदवारी मनोनयन गरेका थापा शुक्रबारको बैठकपछि मात्र आफ्नो निर्वाचन क्षेत्रमा जाने तयारीमा छन्।
तीन दशक लामो राजनीतिक संघर्षपछि पार्टी नेतृत्वमा पुगेका थापालाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावी माहोल आफ्नो पक्षमा पार्ने रणनीति कांग्रेसले लिएको छ। त्रिचन्द्र क्याम्पसबाट नेविसंघ नेताका रूपमा राजनीति सुरु गरेका थापा विद्यार्थी आन्दोलन, राजतन्त्रविरोधी संघर्ष र २०६२/६३ को जनआन्दोलनमा अग्रपंक्तिमा रहेर चर्चित बनेका थिए।
२०६४ को संविधानसभा निर्वाचनबाट संसद् प्रवेश गरेका थापा १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य र १४ औं महाधिवेशनमा महामन्त्री निर्वाचित भएका थिए। गत पुसमा सम्पन्न विशेष महाधिवेशनले उनलाई कांग्रेस सभापति बनाएको हो।
यसैबीच, विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आएको देउवा पक्ष सर्वोच्च अदालत गएको भए पनि अदालतले अन्तरिम आदेश दिन इन्कार गरेपछि थापा नेतृत्वको केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक पार्टी मुख्यालय सानेपामै बस्न लागेको हो। देउवा पक्षका धेरै नेता थापाले हस्ताक्षर गरेकै टिकटबाट चुनावी प्रतिस्पर्धामा छन्।
पूर्वसभापति देउवाले पनि थापाको आग्रहमा चुनाव नलड्ने घोषणा गरेका छन् भने पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नैतिकताका आधारमा उम्मेदवारी नदिने निर्णय गरिसकेका छन्।