एजेन्सी ।
अमेरिकी अटोमोबाइल बजारमा चिनियाँ सवारीसाधनको प्रवेशलाई लिएर लामो समयदेखि बहस चल्दै आएको छ। तर पछिल्लो एक अध्ययनले अमेरिकी उपभोक्ताको सोचमा उल्लेख्य परिवर्तन आएको देखाएको छ।
‘अटो प्यासिफिक’ले सार्वजनिक गरेको सन् २०२५ को फ्युचर एट्रिब्युट डिमान्ड स्टडी अनुसार, यदि चिनियाँ ब्रान्डका गाडीहरू अमेरिकी बजारमा उपलब्ध भएमा आधाभन्दा बढी अमेरिकी उपभोक्ता ती गाडी किन्न इच्छुक देखिएका छन्। सर्वेक्षणले चिनियाँ कारप्रतिको जागरूकता र स्वीकार्यता दुवैमा उल्लेख्य वृद्धि भएको पुष्टि गरेको छ।
प्रतिवेदनअनुसार सन् २०२४ मा चिनियाँ कार ब्रान्डबारे ५२ प्रतिशत अमेरिकी उपभोक्ता जानकार थिए भने सन् २०२५ मा यो संख्या बढेर ६५ प्रतिशत पुगेको छ। त्यस्तै, चिनियाँ गाडी किन्न विचार गर्नेहरूको अनुपात ४१ प्रतिशतबाट बढेर ५२ प्रतिशत पुगेको छ, जसले अमेरिकी बजारमा चिनियाँ गाडीको सम्भावित प्रभावलाई थप बलियो बनाएको छ।
विशेषगरी युवा पुस्तामा चिनियाँ गाडीप्रतिको आकर्षण उल्लेख्य देखिएको छ। सर्वेक्षणमा सहभागी ७१ प्रतिशत ‘जेन–जी’ र ६५ प्रतिशत ‘मिलिनियल्स’ ले चिनियाँ कार किन्न आफूहरू तयार रहेको बताएका छन्। आधुनिक प्रविधि, आकर्षक फिचर्स र तुलनात्मक रूपमा सस्तो मूल्य चिनियाँ गाडीप्रतिको रुचिको प्रमुख कारण मानिएको छ। अमेरिकामा नयाँ कारको औसत मूल्य करिब ४८ हजार अमेरिकी डलर (झन्डै ७० लाख रुपैयाँ) पुगेको सन्दर्भमा चिनियाँ गाडीहरू किफायती विकल्पका रूपमा देखिन थालेका छन्।
उपभोक्ताको रोजाइमा चिनियाँ प्राविधिक कम्पनीसँग जोडिएका ब्रान्डहरू अग्रस्थानमा छन्। सर्वेक्षणमा २७ प्रतिशतले ‘हुवावे’का गाडीप्रति रुचि देखाएका छन् भने २३ प्रतिशतले ‘शाओमी’प्रति आकर्षण जनाएका छन्। विद्युतीय सवारी उत्पादक ‘बीवाईडी’ प्रति १९ प्रतिशत उपभोक्ताको चासो देखिएको छ। गिली र नियो जस्ता ब्रान्डहरू पनि अमेरिकी उपभोक्ताको प्राथमिक सूचीमा परेका छन्।
यद्यपि, चिनियाँ गाडीका लागि अमेरिकी बजार पूर्णतः सहज भने छैन। प्रतिवेदनले सुरक्षा र गोपनीयतालाई मुख्य चुनौतीका रूपमा औंल्याएको छ। सर्वेक्षणमा सहभागी ७७ प्रतिशत अमेरिकीले चिनियाँ गाडीहरूले व्यक्तिगत डाटा संकलन वा जासुसी गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। करिब ७६ प्रतिशतले सफ्टवेयरमार्फत राष्ट्रिय सुरक्षामा खतरा पर्न सक्ने आशंका पनि जनाएका छन्।
राजनीतिक र आर्थिक अवरोधहरू पनि चिनियाँ गाडीका लागि ठूलो चुनौती बनेका छन्। अमेरिकी सरकारले हालै चिनियाँ विद्युतीय सवारीसाधनमा १०० प्रतिशत भन्सार शुल्क लगाएको छ, जसले चिनियाँ कम्पनीहरूलाई अमेरिकी बजारमा सिधा प्रतिस्पर्धा गर्न कठिन बनाएको छ।
तर राजनीतिक तनाव र सुरक्षा चासोका बावजुद अमेरिकी उपभोक्ताको बढ्दो रुचि र चिनियाँ कम्पनीहरूको आक्रामक रणनीतिले भविष्यमा अमेरिकी सडकमा चिनियाँ गाडीको उपस्थिति बढ्न सक्ने विश्लेषण गरिएको छ। यदि चिनियाँ कम्पनीहरूले अमेरिकाभित्रै कारखाना स्थापना गर्ने वा मेक्सिको जस्ता छिमेकी मुलुकबाट उत्पादन ल्याउने रणनीति अपनाएमा, अमेरिकी अटो बजारको ठूलो हिस्सा ओगट्न सक्ने सम्भावना देखिएको छ।