संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट औपचारिक रूपमा बाहिरिने प्रक्रिया पूरा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि घोषणा गरेको निर्णय कार्यान्वयनमा आएसँगै अमेरिकाको ७८ वर्ष लामो डब्लुएचओ सदस्यता अन्त्य भएको हो।
सङ्घीय अधिकारीहरूका अनुसार फिर्ती प्रक्रिया पूरा भए पनि अमेरिका र डब्लुएचओबीचका सबै विषय भने अझै पूर्ण रूपमा टुंगिएका छैनन्। डब्लुएचओका अनुसार अमेरिकाले सन् २०२४ र २०२५ का सदस्य शुल्क नतिरेकाले १३ करोड डलरभन्दा बढी रकम बक्यौता रहेको छ। तर ट्रम्प प्रशासनका अधिकारीहरूले सदस्यता फिर्ता लिँदै गर्दा उक्त रकम तिर्नुपर्ने कुनै कानुनी बाध्यता नरहेको दाबी गरेका छन्।
अर्कोतर्फ, सार्वजनिक स्वास्थ्य विज्ञहरूले अमेरिकाको यो निर्णयले उसले डब्लुएचओमार्फत प्राप्त गर्दै आएको विश्वव्यापी रोग निगरानीसम्बन्धी महत्त्वपूर्ण तथ्याङ्कमा पहुँच गुम्ने खतरा रहेको चेतावनी दिएका छन्।
राष्ट्रपति ट्रम्पले कोभिड–१९ महामारीको व्यवस्थापनमा डब्लुएचओ असफल भएको, आवश्यक सुधार लागू गर्न नसकेको तथा सदस्य राष्ट्रहरूको राजनीतिक प्रभावबाट स्वतन्त्र रहन नसकेको आरोप लगाउँदै सङ्गठनबाट बाहिरिने कार्यकारी आदेश जारी गरेका थिए। उनका अनुसार महामारीका बेला डब्लुएचओले मास्क प्रयोग र भाइरस हावाबाट फैलिने विषयमा ढिलाइपूर्ण र गलत सल्लाह दिएको थियो।
सार्वजनिक स्वास्थ्य क्षेत्रका विज्ञहरूले भने अमेरिकी निर्णयले विश्वव्यापी रोग नियन्त्रण प्रयासमा गम्भीर असर पार्ने बताएका छन्। जर्जटाउन विश्वविद्यालयका विशेषज्ञ लरेन्स गोस्टिनले यस निर्णयलाई दीर्घकालीन रूपमा अत्यन्तै हानिकारक भन्दै यसले नयाँ महामारीको सामना, पोलियो उन्मूलन, मातृ तथा शिशु स्वास्थ्य कार्यक्रम, साथै खोप र औषधि विकास प्रक्रियामा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएका छन्।
डब्लुएचओ संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विशेष स्वास्थ्य निकाय हो, जसले इबोला, एमपक्स, पोलियो जस्ता रोगको प्रकोप नियन्त्रणमा समन्वय गर्ने, गरिब राष्ट्रलाई प्राविधिक सहयोग प्रदान गर्ने तथा विश्वव्यापी स्वास्थ्य मापदण्ड तय गर्ने कार्य गर्दै आएको छ। विश्वका प्रायः सबै देश यसको सदस्य रहेका छन्।
अमेरिकाको फिर्तीलाई विश्व स्वास्थ्य व्यवस्थापन प्रणालीका लागि ठूलो झट्काका रूपमा हेरिएको छ।