भक्तपुर ।
भक्तपुरस्थित बाल सुधार गृहमा बिहीबार राति बालकहरूबीच भएको विवाद उग्र बन्दै झडप, तोडफोड र आगजानीमा परिणत भएको थियो। घटनामा केही बालक घाइते भएका छन् भने आगलागी नियन्त्रणमा लिन सुरक्षाबलले बारुणयन्त्र प्रयोग गरेको थियो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार माघ ८ गते राति बाल सुधार गृहभित्र रहेका बालकहरूबीच आपसी विवाद भई झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले सम्झाइ–बुझाइ गर्दा पनि अवस्था सामान्य नबन्दा सुरक्षाकर्मीमाथि समेत आक्रमण भएको थियो। त्यसपछि स्थानीय प्रशासनको समन्वयमा सुरक्षाबलको प्रयोग गरी अवस्था नियन्त्रणमा लिइएको मन्त्रालयले जनाएको छ।
आगलागी बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको र घाइते बालकहरूलाई उपचारका लागि अस्पताल पठाइएको मन्त्रालयको प्रेस विज्ञप्तिमा उल्लेख छ। घटनाबारे छलफल गर्न माघ ९ गते गृह मन्त्रालयमा गहन बैठक बसेको थियो।
बैठकमा गृह मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, दुवै मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक, कारागार विभागका प्रमुख तथा अन्य उच्च पदस्थ सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकमा हाल बाल सुधार गृहमा रहेका १७० जना बालबालिकाको सुरक्षित व्यवस्थापन, साथै नुवाकोटमा नयाँ बाल सुधार गृहको पूर्वतयारी छिटो सम्पन्न गरी सञ्चालनमा ल्याउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले घटनाको व्यवस्थापनमा सहयोग पुर्याएको प्रमुख जिल्ला अधिकारी भक्तपुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षाकर्मीप्रति धन्यवाद व्यक्त गरेको छ। साथै घाइते बालकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।