काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाबाट अमेरिका आयात हुने सबै वस्तुमा शतप्रतिशत अतिरिक्त कर लगाउने गम्भीर चेतावनी दिएका छन्।
ट्रम्प पुनः ह्वाइट हाउस फर्किएको एक वर्षमै अमेरिका र उसको उत्तरी छिमेकी क्यानडाबीचको सम्बन्ध उल्लेखनीय रूपमा तनावपूर्ण बनेको छ। पछिल्लो समय क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बेइजिङ भ्रमणमा रहँदा चीनसँग नयाँ रणनीतिक साझेदारीको प्रशंसा गर्दै करवृद्धिको समस्या समाधान गर्ने उद्देश्यले ‘ऐतिहासिक व्यापार सम्झौता’ भएको बताएका थिए। यही घोषणापछि ट्रम्प थप आक्रोशित बनेका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत कार्नीको कदमको कडा आलोचना गर्दै क्यानडालाई चीनले अमेरिकामा सामान पठाउने ‘ड्रप अफ पोर्ट’ बनाउन खोजिएको आरोप लगाएका छन्। उनले चीनको प्रभावले क्यानडाको व्यवसाय, सामाजिक सञ्जाल र जीवनशैली पूर्ण रूपमा अस्तव्यस्त हुने दाबीसमेत गरेका छन्। यदि क्यानडाले चीनसँगको सम्झौता अघि बढायो भने वासिङ्टनले तुरुन्तै सबै क्यानेडियाली उत्पादनमा १०० प्रतिशत ट्यारिफ (भन्सार महसुल) थोपर्ने चेतावनी उनले दिएका छन्।
यी दुई नेताबीचको वाकयुद्ध मंगलबार डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चको बैठकदेखि झनै चर्किएको हो। डाभोसमा कार्नीले अमेरिकी नेतृत्वमा आधारित विश्व व्यवस्थामा ‘विखण्डन’ आएको टिप्पणी गरेपछि ट्रम्पले कार्नीलाई आफ्नो स्वघोषित ‘शान्ति समिति’ (बोर्ड अफ पिस) मा सामेल हुन दिएको निम्तोसमेत फिर्ता लिएका छन्।
ट्रम्पले उक्त समितिलाई संयुक्त राष्ट्रसङ्घको प्रतिद्वन्द्वी निकायका रूपमा विकास गर्न खोजेको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा चिन्ता व्यक्त भइरहेका बेला क्यानडासँगको सम्बन्धमा आएको यो दरारले नयाँ मोड लिएको विश्लेषकहरूको भनाइ छ।
क्यानडा आफ्नो कुल निर्यातको तीन चौथाइभन्दा बढी हिस्सा अमेरिकामै निर्भर रहेको अवस्थामा ट्रम्पको यो धम्कीले क्यानडाको अर्थतन्त्रमा ठूलो धक्का पुग्न सक्ने देखिएको छ। विशेष गरी कार, एल्युमिनियम र स्टिलजस्ता क्षेत्रहरू ट्रम्पको कर वृद्धि नीतिबाट प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्।
यद्यपि प्रधानमन्त्री कार्नीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै क्यानडा अमेरिकाको कारण मात्र नभई दुई देशबीचको साझेदारीले फस्टाएको भन्दै आफ्नो राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने दृढता व्यक्त गरेका छन्।