काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएका उम्मेदवारहरूबीच सार्वजनिक बहस गर्न आफू तयार रहेको बताएका छन्।
च्यासलमा कार्यकर्तामाझ घेरिएर हिँड्दै गरेको अवस्थामा शनिबार पत्रकारहरूसँगको कुराकानीमा ओलीले यस्तो बहसको आवश्यकता औँल्याएका हुन्।
उनले भने, ‘वास्तवमा प्रधानमन्त्रीका क्यान्डिडेट हुँ भन्नेहरूका बीचमा संवाद कार्यक्रम राख्नु र त्यो एउटा पब्लिक डिबेट, ओपन लाइभ त्यस्तो डिबेट गर्नु आवश्यक छ।’
ओलीले किन प्रधानमन्त्री हुनुपर्ने, के गर्नका लागि प्रधानमन्त्री हुनुपर्ने, देशका लागि आफ्नो एजेन्डा के हो भन्ने विषयमा खुला छलफल हुनुपर्नेमा जोड दिए।
पत्रकारले ‘त्यसो भए तयार हुनुहुन्छ ?’ भनेर सोध्दा ओलीले ‘बिल्कुल’ भन्ने जवाफ दिएका थिए।
आगामी निर्वाचनलाई लक्षित गर्दै प्रमुख दलहरूले प्रधानमन्त्रीका रूपमा आ–आफ्ना उम्मेदवार अघि सारेका छन्। नेकपा एमालेले अध्यक्ष ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ महानगरपालिकाका निर्वतमान मेयर तथा वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको छ।
नेपाली कांग्रेसले भने भर्खरै सम्पन्न विधान महाधिवेशनबाट सभापति बनेका गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।
निर्वाचनअगाडि ठूला दलहरूले प्रधानमन्त्रीका रूपमा अघि सारेका उम्मेदवारहरूबीच यसखाले सार्वजनिक बहस हुनु नेपालका सन्दर्भमा नौलो अभ्यास हुन सक्छ।