काठमाडौँ।
नेपाली कांग्रेसले माघ १६ गते जनकपुरमा आयोजना गर्ने भनिएको ‘मधेश प्रदेशस्तरीय चुनावी सभा’ स्थगित गरेको छ। निर्वाचन आयोगको कडा निर्देशन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने कानुनी बाध्यताका कारण उक्त कार्यक्रम तत्कालका लागि रोकिएको हो।
नेपाली कांग्रेस मधेश प्रदेश प्रचार विभागका प्रमुख नितेशकुमार गुप्ताका अनुसार, माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र त्यसपछिको राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै आयोगले जारी गरेको परिपत्रलाई सम्मान गर्दै सभा स्थगित गर्ने निर्णय गरिएको हो।
यसअघि कांग्रेसले मधेश प्रदेशका आठै जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ता तथा समर्थक सहभागी गराएर जनकपुरधाममा शक्ति प्रदर्शन गर्ने व्यापक तयारी गरेको थियो। तर निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका कारण अन्तिम समयमा कार्यक्रम रोकिएको हो।
‘हामीले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने कानुनी र नैतिक जिम्मेवारीलाई आत्मसात् गरेका छौँ,’ प्रचार विभाग प्रमुख गुप्ताले भने, ‘निर्वाचन आयोगको पछिल्लो निर्देशनका कारण पूर्वनिर्धारित कार्यक्रमलाई हाललाई स्थगित गरी उपयुक्त समयमा आयोजना गर्ने निर्णय गरेका हौँ।’
सभामा पार्टी सभापति गगन थापासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो। कार्यक्रम स्थगित भएपछि स्थानीय कार्यकर्तामा केही अन्योल देखिएको छ।
प्रदेश समितिले ठूला सभा रोकिए पनि पार्टीका आन्तरिक बैठक, संगठन विस्तार तथा चुनावी तयारीका अन्य प्राविधिक गतिविधिहरूलाई निरन्तरता दिने जनाएको छ। राष्ट्रिय सभा निर्वाचनको समयमा आयोगले तडकभडक तथा ठूला सभामा कडाइ गरेपछि कांग्रेसले आफ्नो रणनीति परिमार्जन गर्दै कार्यक्रम पछि सारेको बुझिएको छ।