काठमाडौँ।
प्रधान सेनापति खुल्ला म्याराथनको ११औँ संस्करण माघ २४ गते काठमाडौँमा आयोजना हुने भएको छ। नेपाली सेनाको २६३औँ सेना दिवस तथा महाशिवरात्रिको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको हो। यस वर्ष प्रतियोगितामा दुई हजार पाँच सयभन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ।
नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताका लागि यस वर्ष ‘बलियो एकता, सुरक्षित राष्ट्र’ भन्ने नारा तय गरिएको जानकारी दिइयो। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार प्रतियोगितामा ४२.१९५ किमी दूरीको पुरुष खुल्ला म्याराथन तथा महिला र पुरुष दुवैका लागि खुल्ला २१ किमी हाफ म्याराथन समावेश गरिएको छ।
यसैगरी सैनिक अधिकृत, सैनिक सहचारी, सैनिक महाविद्यालय तथा सहचारी कार्यालयमा कार्यरत कर्मचारी, सेनाका अवकाशप्राप्त तथा सेवारत सकलदर्जा र गैरसैनिकतर्फ कक्षा १० देखि १२ सम्म अध्ययनरत सन्तानको सहभागितामा १० किमी दौड प्रतियोगिता पनि आयोजना हुनेछ। सैनिक महाविद्यालयमा अध्ययनरत कक्षा ७ देखि ९ सम्मका छात्रछात्राका लागि ५ किमी दौड सञ्चालन गरिनेछ।
वि.सं. २०७२ मा पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिता प्रत्येक वर्ष महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नियमित रूपमा हुँदै आएको छ।
पुरस्कार व्यवस्था
पुरस्कार संरचनाअनुसार ४२.१९५ किमी म्याराथनतर्फ प्रथम हुने खेलाडीले ३ लाख रुपैयाँ, द्वितीयले २ लाख र तृतीयले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
२१ किमी हाफ म्याराथन महिला तथा पुरुष खुल्ला विधामा प्रथम हुनेले समान १ लाख रुपैयाँ, द्वितीयले ७५ हजार र तृतीयले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
१० किमी दौडतर्फ सैनिक अधिकृत, सैनिक सहचारी, सहचारी कार्यालयका कर्मचारी तथा खुल्ला समूहमा समान पुरस्कार व्यवस्था गरिएको छ, जहाँ प्रथम हुनेले १० हजार, द्वितीयले ७ हजार र तृतीयले ५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।
५ किमी दौडतर्फ छात्र तथा छात्रा दुवैका लागि समान पुरस्कार राखिएको छ। यसअन्तर्गत प्रथम हुनेले १० हजार, द्वितीयले ७ हजार र तृतीयले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
यसका साथै ४२.१९५ किमी म्याराथन पुरुष प्रथम हुने खेलाडीलाई एक थान मोटरसाइकल तथा २१ किमी हाफ म्याराथन महिला र पुरुष प्रथम हुने खेलाडीलाई काठमाडौं महानगरपालिकाबाट स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ।