काठमाडौँ — महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत सोमबार हुने निर्णायक खेलमा नेपाल र स्कटल्यान्ड आमनेसामने हुँदैछन्। दुवै टोली एक–अर्कासँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्, जसले खेललाई थप रोचक बनाएको छ।
प्रतियोगिता सुरु हुनुअघि अभ्यास खेल खेले पनि दुवै टोली एक–अर्काका रणनीति र क्षमताबारे धेरै अपरिचितजस्तै छन्। तर सबैलाई थाहा छ, यस खेलको नतिजाले अघिल्लो चरण (सुपर सिक्स) को दिशा निर्धारण गर्नेछ। नेपाललाई सुपर सिक्समा पुग्न स्कटल्यान्डलाई पराजित गर्नु अनिवार्यजस्तै छ, त्यसमाथि ठूलो अन्तरको जित आवश्यक पर्न सक्ने अवस्था पनि छ।
शनिबार पूर्ण राष्ट्र जिम्बावेमाथि ६ विकेटको ऐतिहासिक जित निकालेपछि नेपालको सुपर सिक्स सम्भावना पुनर्जीवित भएको हो। पूजा महतोको अविजित ५२ रनको उत्कृष्ट इनिङ्समा नेपालले १ सय ३० रनको लक्ष्य सहजै पूरा गरेको थियो। खेलपछि आत्मविश्वासी देखिएकी पूजाले भनिन्, “अघिल्ला खेलहरूमा नेपाल १ सय ४० रनको लक्ष्यनजिक पुगेको थियो, १ सय ३० त केही होइन।”
नेपालले पहिलो दुई खेलमा थाइल्यान्डसँग ८ विकेटले र नेदरल्यान्ड्ससँग २ रनले पराजय बेहोरेको थियो। नेदरल्यान्ड्सविरुद्ध १ सय ४१ रनको लक्ष्य पछ्याउँदा अन्तिम समयमा चुकेको नेपालका लागि सम्झना खड्का र विन्दु रावलले राम्रो सुरुआत दिलाएका थिए। तर मध्यक्रमका ब्याटरहरू एकपछि अर्को आउट हुँदा जित नजिक पुगेर पनि नेपालले अवसर गुमाएको थियो। जिम्बावेविरुद्धको खेलमा भने पूजा महतो र कप्तान इन्दु बर्माले मध्यक्रम सम्हाल्दै टोलीलाई ऐतिहासिक जित दिलाएका थिए।
स्कटल्यान्डलाई पराजित गरेमा नेपालले मात्र होइन, स्कटल्यान्डले पनि सुपर सिक्समा पुग्ने सम्भावना बलियो बनाउनेछ। समूह ‘बी’ बाट आयरल्यान्ड तीनै खेल जितेर सुपर सिक्समा पुगिसकेको छ। स्कटल्यान्ड र थाइल्यान्ड तीन खेलमा समान दुई जितका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। नेपालको तीन खेलबाट दुई अंक छ भने जिम्बावे सबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिसकेको छ।
सोमबार नै यस समूहको अर्को खेलमा नेदरल्यान्ड्स र थाइल्यान्ड आमनेसामने हुनेछन्। नेपालले स्कटल्यान्डलाई र नेदरल्यान्ड्सले थाइल्यान्डलाई पराजित गरेमा नेपाल, स्कटल्यान्ड र थाइल्यान्डको समान ४–४ अंक हुनेछ। यस्तो अवस्थामा राम्रो रनरेट भएका दुई टोली सुपर सिक्समा पुग्नेछन्।
स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्ससँग ७ रनले पराजय बेहोरे पनि त्यसपछि जिम्बावे र थाइल्यान्डलाई समान ५ विकेटले पराजित गरेको थियो। नेपालले भने पहिलो पटक महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट खेल्दै जिम्बावेमाथि ऐतिहासिक जित हात पारेको हो। स्कटल्यान्डले भने सन् २०२४ को ट्वान्टी–२० विश्वकप खेलिसकेको अनुभव बोकेको टोली हो।
जिम्बावेमाथिको जितपछि नेपालका प्रशिक्षक हर्सल पाठकले भनेका थिए, “मैले कुनै गणित गरेको छैन, तर हाम्रो दोस्रो चरणमा पुग्ने राम्रो सम्भावना छ। यसै समूहको अर्को खेल पनि हाम्रा लागि अर्थपूर्ण हुनेछ। तर सबै कुरा हाम्रो हातमा छैन। हामीले गर्ने भनेको आफ्नो क्षमताअनुसार खेल्ने हो।”