रुपन्देही।
रुपन्देहीको प्रमुख सीमा नाका बेलहियाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई राष्ट्रिय झण्डामार्फत स्वागत गरिने भएको छ। नेपाल प्रवेश गरेपछि देशमा आइपुगेको स्पष्ट अनुभूति दिलाउने उद्देश्यले बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डाखोला पुलसम्मका विद्युतीय पोलमा करिब १०० वटा राष्ट्रिय झण्डा राखेको हो।
भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई ‘नेपाल आएका छौँ’ भन्ने अनुभूति दिलाउन यो अभियान सुरु गरिएको कार्यक्रम संयोजक तथा स्थानीयवासी अर्जुनकुमार गिरीले बताए। उनका अनुसार मुख्य प्रवेशद्वारदेखि डण्डाखोला पुलसम्म झण्डा राखिँदा नाकाको पहिचान थप प्रस्ट हुने र पर्यटकलाई जानकारीमूलक सन्देश जाने विश्वास गरिएको छ।
गिरीले यो पहलले बेलहिया नाकाको सौन्दर्यकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे। राष्ट्रियता झल्काउन झण्डा आवश्यक रहेको उल्लेख गर्दै उनले आफूहरूले थालेको कामले देशभर सकारात्मक सन्देश पुग्ने बताए। झण्डाहरू नेपाल भन्सार एजेन्ट सङ्घ, रुपन्देहीले उपलब्ध गराएको जनाइएको छ।
बेलहिया गाउँ समाजले ‘हाम्रो बेलहिया, राम्रो बेलहिया’ नारासहित नाका क्षेत्रको सौन्दर्यकरण अभियान अघि बढाएको छ। यसअन्तर्गत सरसफाइसँगै पार्किङ व्यवस्थापनमा पनि जोड दिइएको कार्यक्रम संयोजक गिरीले जानकारी दिए।
बेलहिया गाउँ समाजका अध्यक्ष सुमन शर्माले ‘सफासुग्घर र हराभरा बेलहिया’ बनाउने लक्ष्यसहित अभियान सञ्चालन गरिएको बताए। “नेपाल प्रवेश गरेपछि त्यो अनुभूति पर्यटकलाई होस् भन्ने हाम्रो प्रमुख उद्देश्य हो,” उनले भने, “सरकारले मात्र गरेर हुँदैन, सङ्घ–संस्थाले पनि सक्रिय हुनुपर्छ। देशप्रति नागरिकको पनि दायित्व छ।”
उल्लेखनीय छ, बेलहिया नाका स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने पर्यटकको सङ्ख्याका हिसाबले देशकै सबैभन्दा व्यस्त नाका मानिन्छ।