काठमाडौं।
आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र स्कटल्यान्डबीच कीर्तिपुरमा प्रतिस्पर्धा भइरहेको छ। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ रोजेपछि स्कटल्यान्डले ब्याटिङ गरिरहेको छ।
१० ओभरको खेल सकिँदा स्कटल्यान्डले ४ विकेट गुमाउँदै ६९ रन बनाएको छ। नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएकी छन् भने सीता रानामगरले एक विकेट हात पारेकी छन्।
समूह चरणमा तीन खेल खेलिसकेको नेपालले हालसम्म दुई अंक मात्र जोडेको छ। शनिबार भएको तेस्रो खेलमा नेपालले टेष्ट राष्ट्र जिम्बाब्वेलाई ६ विकेटले पराजित गर्दै सुपर सिक्सको सम्भावना जीवित राखेको थियो। जिम्बाब्वेले दिएको १३० रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो।
नेपाल पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले हार बेहोरेको थियो। आजको खेलमा पराजित भएमा नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ। त्यसैले दुवै टोलीका लागि यो खेल ‘गर वा मर’को अवस्थामा पुगेको छ।
नेपालको प्लेइङ–११ मा कप्तान इन्दु बर्मासहित पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, मनिषा उपाध्याय, सीता रानामगर, रोमा थापा र कविता जोशी रहेका छन्।